Ticker

6/recent/ticker-posts

जानी राखौँ, मतदानमा यी कार्य गर्न पाइँदैन.....

काठमाडौ,बैशाख ।
आइतबार स्थानीय तहका लागि निर्वाचन हुँदैछ । मतदाताको गोप्य मतबाट बढी मत ल्याएर पहिलो हुने उम्मेदवार विजयी हुनेछन् । संविधान र कानुनले मतदानलाई गोप्य राख्नुपर्ने प्रावधान राखेको छ । यसैले मतदाता स्वयंले चाहेमा पनि आफूले मत दिइसकेको मतपत्रलाई सार्वजनिक गर्न पाइदैन । कुनै मतदाताले मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिन्हमा स्वस्तिक चिन्ह लगाएपछि त्यसलाई सार्वजनिक गरे त्यो दण्डनीय मानिएको छ । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरीवाना गर्न सक्नेछ । त्यतिमात्र होइन सार्वजनिक गरिएको त्यस्तो मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिने छ । र, त्यो गणनामा समावेश गरिने छैन ।
निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मतदानको दिन मतदातालाई पनि आचारसंहिता लाग्ने बताए । उनले भनेः‘नागरिक अधिकार प्रयोग गर्न पाउँदा मतदाताले आफू निष्पक्ष भई मतदानको गोप्यता कायम गर्नसक्नुपर्छ, गोप्य मतदान गर्न पाउनु मतदाताको संवैधानिक अधिकार हो । कसलाई मत संकेत गरेको हो, त्यो गोपनीय राख्नुपर्छ । कसैलाई देखाउन पाइन्न । मतदान केन्द्रमा मोबाइल समेत लान पाइदैन । मत संकेत गरेको तस्विर खिच्न वा सार्वजनिक गर्न दण्डनीय हुन्छ, मतदाता आफ्नो कर्तव्य र अरुको अधिकारप्रति सचेत भई कसैको कर काप, डर वा प्रलोभनमा परी मतदान गर्नु हुन्न ।’
आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । कुनै मतदाता तोकिएको समय समाप्त भएपछि पुगेमा मतदान केन्द्रमा प्रवेश पाउने छैनन् । तर, मतदान केन्द्रमा प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउनेछन् । कुनै मतदाताले मतपत्रमा चिन्ह लगाएर मतपत्र बाहिर लान पाउने छैनन् । त्यस्तो पाइएमा २५ हजारसम्म जरीवाना तिर्नुपर्ने हुनसक्छ । तर, कुनै मतदाताले मतपत्र लिइसकेर मतदान गर्न नचाहेमा मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्न सक्नेछन् । त्यस्तो मतपत्रको छुट्टै लगत भने राखिने छ । तर, मत संकेत गरेर फिर्ता गरेको रहेछ भने त्यस्तो मतपत्रलाई कर्मचारीले तत्कालै मतपेटिकामा हाल्नुपर्ने हुन्छ । उम्मेदवार एवं निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबैले निश्चित अनुशासनको पालना गर्नुपर्ने छ । कानुनले तोके विपरीतको काम जो सुकैबाट भएपनि कारवाहीको दायरामा आउने छन् । निर्वाचन कसुर तथा सजाय ऐनले निर्वाचन अवधिमा दोषी पाइएका हरेक विषयमा सजाय निर्धारण गरेको छ । उक्त ऐनले मतदान, मतगणना वा निर्वाचन अवधिमा के गर्न नहुने विषय पनि प्रष्ट पारेको छ ।
अर्को मतदाताको नामबाट मतपत्र लिएर मतदान गरेको वा एकै व्यक्तिले एकपटक भन्दा बढी मतदान गरेको पुष्टी भएमा त्यस्तो व्यक्तिले २५ हजार रुपैयाँसम्म जरीवाना तिर्नुपर्ने हुन्छ । मतदान अधिकृतले तत्कालै त्यस्तो जरीवाना निर्धारण तोक्नसक्छ । मतदान अधिकृतले जरीवाना तिर्न नसक्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा पठाउन सक्छ । कुनै व्यक्तिले नाम ढाँटी अर्काको नाममा मत खसाल्न आएको कसैले उजुरी गर्न चाहेमा तिनले एक सय रुपैयाँ धरौटी राखी निवेदन दिनुपर्ने हुन्छ । मतदाताले मतदान गर्दा कुनै प्रकारको प्रचलित कानुन उल्लघंन गरेको पाइएमा वा मतपेटिकामा मतपत्र बाहेक अन्य केही वस्तु खसालेको पाइएमा १५ हजार रुपैयाँसम्म जरीवानाको भागिदार हुनसक्नेछन् ।

Post a Comment

0 Comments