Ticker

6/recent/ticker-posts

महिला समानताका पक्षमा सबैले मलाई भोट हालेः हरिप्रभा खड्गी

काठमाडौं, जेठ । विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय हरिप्रभा खड्गी अहिले नेपाली कांग्रेसकोतर्फबाट काठमाडौं महानगरको उपमेयर पदकी उम्मेदवार हुन् । उनको प्रतिस्पर्धीको रुपमा राप्रपाबाट राजराम श्रेष्ठ र साझा पार्टीबाट निरुपमा यादव छन् । पछिल्लो मत परिणाम अनुसार खड्गीले उनीहरुलाई निकै ठूलो मतान्तरले पछि पारेकी छन् । 

उनका दुई प्रतिस्पर्धीको मत परिणाम हेर्दा हरिप्रभाको प्रतिस्पर्धी नै नभएको भान हुन्छ । वकिल बन्ने सपनासहित ल क्याम्पस भर्ना भएकी हरिप्रभाको जीवन विज्ञानका विद्यार्थी प्रकाश खड्गीसँग विवाहभएसँगै एकाएक मोडियो।  ल क्याम्पसबाट उनको पढाई पद्मकन्या सर्यो । नेविसंघमा आबद्ध भइसकेकी उनको पद्मकन्यामा पुग्दा पनि त्यसमा निरन्तरता रह्यो। यही निरन्तरको प्रतिफल स्वरुप हरिप्रभा अहिले उपमेयरमा विजयी पक्कापक्की भएको हो । 

उनको राजनीतिक योगदानलाई घर परिवारबाट मात्र होइन आम सर्वसाधारणले पनि मूल्यांकन गरेको पछिल्लो मत परिणामले देखाएको छ । ६०७७४  मत गनिसक्दा उनका निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै दश हजारले उनले अग्रता लिएकी छन् । आफ्नो निकटतम प्रतिस्पर्धी पुरुष भएको विषयमा उनले भनिन् ‘उपमेयर समेत पुरुष आएका कारण महानगरमा म बाहेक अर्को प्रतिस्पर्धी नै नभएजस्तो अनुभव गरिरहेकी छुँ।’ उनले महिलाहरु मात्र नभएर महिला समानताका पक्षमा सबैले आफूलाई मतदान गरेको भन्दै आफ्नो जीत सुनिश्चित भएको दाबी गरिन् ।

‘सानो नै छँदा बाजे कुलदाश श्रेष्ठले घरमा गणेशमान सिंहको कुरा गरिरहनुहन्थ्यो। मलाई त्यसले नै प्रभावित गरिसकेको रहेछ, २०४२ सम्झिँदै हरिप्रभा भन्छिन, ‘सायद श्रीमानको परिवार पनि त्यही पार्टीमा नभएको भए मेरो आस्थामा समस्या आउथ्यो होला।’ 

राजनीतिमा सँगै काम गरेका साथीहरु धेरे माथि पुगे पनि उनले आफ्नो यात्रा भने धिमा गतिमै भए पनि जारी राखिन्। पद्मकन्याबाट आइएसम्मको अध्ययनपछि पारिवारिक जीवनमै व्यस्त खड्गीले त्यसपछिको राजनीति भने महिला संघबाट निरन्तारता दिइन्। त्यही निन्तरताको परिणास्वरुप देशभर एमालेमय भएको स्थानीय चुनावमा उनी वडा सदस्य निर्वाचित भइन् २०५४ सालमा। 

महिला संघको जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्यसम्म भएकी हरिप्रभा स्थानीय तह निर्वाचन २०७४ सम्म आइपुग्दा काठमाडौंको उपमेयर पदमा उम्मेद्वार बनेकी हुन् । ‘महानगरमा धुलो धुवा नियन्त्रण गर्ने, महानगरलाई क्लिन एण्ड ग्रिन बनाउने, सम्पदाको शहरका रुपमा काठमाडौंलाई स्थापित गर्ने र विकास निर्माणका लागि पनि विश्वकै उदाहरणीय शहरका रुपमा विकास गर्ने पार्टीका कार्यक्रम मेरो योजनामा  छँदैछन्,  हरिप्रभा भन्छिन्, ‘त्यस बाहेकको मेरो मुद्दा भनेको महिला सशक्तिकरणको हो।’

जबसम्म महिलाहरु सक्षम हुँदैनन् र आर्थिक रुपमा सक्षम हुँदैनन् तबसम्म महिलाले केही गर्न पनि सक्दैनन् भन्ने हरिप्रभा आर्थिक सहयोग नभएको भए आफू पनि राजनीतिमा निरन्तरता दिन असमर्थन हुने स्वीकार गर्छिन्। ‘चुनाव जितेपछि म महिलालाई अर्कोपटक देखि वडा तहदेखि नै नेतृत्व गर्ने स्तरसम्म पुर्‍याउने छु, उनले भनिन्, ‘त्यसबाहेक नगरका महिलाहरुको स्वावलम्बन कार्यक्रम मार्फत् सबै महिलालाई पुरुषसँग खुल्ला प्रतिस्पर्धामा आउन सक्ने बनाउने छु।’

Post a Comment

0 Comments