काठमाडौ,जेठ ।
मतदान सकिएको तीन दिनसम्म अधिकांश स्थानीय तहमा १० प्रतिशत पनि मतगणना हुन सकेको छैन् । यसैले निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न भएको छ। आइतबार पहिलो चरणअन्तर्गत दुई सय ८३ मध्ये दुई सय ८१ स्थानीय तहमा मतदान भए पनि काठमाडौं, ललितपुर, भरतपुर, पोखरालगायत अधिकांश ठाउँका मतगणना १० प्रतिशतभन्दा बढी हुन सकेको छैन । गणनाले गति लिन नसकेपछि निर्वाचन परिणामको पर्खाइमा रहेका सर्वसाधारणले निर्वाचन आयोगको आलोचना गर्न थालेका छन्।
पहिलो चरणअन्तर्गत दुई सय ८३ स्थानीय तहका निर्वाचनमध्ये दुई तहमा निर्विरोध भएको थियो। चार ठाउँमा पुनः निर्वाचन गर्नुपर्ने भएको छ। मंगलबार रातिसम्म ३५ स्थानको मात्रै नतिजा आएको छ। १४ ठाउँमा एमाले, १० ठाउँमा कांग्रेस, नौ ठाउँमा माओवादी केन्द्र र दुई ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाजस्ता लाखौं मतदाता भएका स्थानीय तहको गणना पाँच प्रतिशत कट्न सकेको छैन। मतगणनामा ढिलाइ भए पनि निर्वाचन आयोगले कुनै नयाँ व्यवस्था गर्न सकेको छैन।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो र उम्मेदवार धेरै भएकाले मतगणनामा ढिलाइ भएको बताए।‘निर्वाचन अधिकृतले टोली गठन गर्दा धेरै संख्यामा गरेको भए चाँडो हुन्थ्यो,’ उनले भनेः‘अब मतगणना टोली थपिँदै जान्छन्, उम्मेदवारका प्रतिनिधिले पनि सानातिना समस्या कम गर्दै जान्छन्।’
प्रवक्ता सूर्यप्रसाद शर्माले छिटो गणना सम्पन्न गर्न आयोगले मुख्य÷निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताए ।‘मतगणना छिटो गराउन आयोगले आवश्यक व्यवस्था मिलाइसकेको छ, गणना कार्य निरन्तर चलिरहेको र मतपरिणाम पनि प्राप्त भइरहेको अवस्थामा कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारका तर्फबाट ससाना र आधारहीन विषयमा समस्या खडा गरी मतगणनाको कार्य लम्ब्याउने गरेको पाइएको छ ।’ उनले भने ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले गणनामा ढिलाइ हुँदा मतपरिणाममाथि शंका उठ्ने खतरा हुने बताए। उनले यसअघि २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एक साताभित्रैमा सबै परिणाम आइसकेको बताए। उनका अनुसार यसपालि सबैको एउटै ठूलो मतपत्र, मतदाता शिक्षाको कमी र उम्मेदवार धेरै भएकाले समस्या भएको हो ।
0 Comments