पोखरा,जेठ ।
वडा नम्बर १७ को मत गणनाका क्रममा फरक मतपत्र भेटिएपछि पोखरा लेखनाथ महानगरपालिकाको सम्पूर्ण मतगणना कार्य रोकिएको छ । गणनाको क्रममा मतपत्रको कागज फरक भएको, मतदान गर्ने स्वस्तिक छाप केही चाक्लो र रंग फरक भएको भन्दै कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरुले मतगणना बहिस्कार गरेपछि मतगणना रोकिएको हो ।
फर्जी भनिएको मतपत्रमा निर्वाचन अधिकृतको २ वटा हस्ताक्षर रहेको बताइएको छ । फर्जी भनिएको सो मतपत्रमा सूर्यमा प्यानल भोट हालिएको छ । त्यसरी भेटिएको मतपत्र संख्या ८–१० वटा भएको गणनामा सहभागि कांग्रेस र माओवादी प्रतिनीधिको आरोप छ ।
तर, निर्वाचन कार्यालयले भने मत फर्जी नभएको दाबी गरेको छ । सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले दोश्रो संविधानसभामा प्रयोग गरिएको स्वस्तिक छाप भएकाले केही चाक्लो भएको हुनसक्ने बताए । यद्वपी यसबारे बुझ्ने प्रयास भइरहेको उनको भना छ ।
कांग्रेस–माओवादीले विवादित वडामा पुनः मतदान हुनुपर्ने माग गरेका छन् । उनीहरुले निर्वाचन आयोगले समाधान नखोजेसम्म मतगणनामा नबस्ने घोषणा गरेका छन् । निर्वाचन आयोगले भने सबै दलसँग छलफल भइरहेको र केही समयपछि मतगणना हुने बताएको छ ।
0 Comments