टिकट दिने प्रणालीको विरोधमा कांग्रेसी युवाहरु एकाकार
विराटनगर, १४ जेठ । स्थानीय तहको पहिलो चरणको चुनावमा नेपाली कांग्रेसले सोचेअनुरुप नतिजा हात पार्न नसकेपछि दोस्रो चरणमा सचेत हुन माग राख्दै विराटनगरमा कांग्रेसका युवा नेताहरुले खुलेरै विरोध जनाएका छन् ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका लोकप्रिय युवा नेतालाई ‘वाइपास’ गरेर पुरानै अनुहारलाई मेयरमा ल्याउने तयारी भएपछि त्यसको विरोधमा युवाले अभियान सुरु गरेका हुन् ।
काठमाडौं, पोखरा र भरतपुरमा पहिलो चरणको निर्वाचनमा पार्टीले भोगेको हार र त्यस्तै ‘हविगत’को श्रृङ्खला दोहोरिन नदिने भन्दै युवाले बिहीबारबाट अभियान थाले । विराटनगर उपमहानगरपालिका हुँदासम्म काँग्रेसका नगर सभापति भीम पराजुली मेयरको उम्मेदवारको रुपमा निकै बलियो मानिएका थिए तर, महानगर घोषणा भएलगत्तै केन्द्रीय राजनीतिमा पुगिसकेका कांग्रेसका सांसद तथा मोरङका पूर्वजिल्ला सभापति अमृत अर्याललाई मेयरको टिकट दिन तयारी भएसँगै काँग्रेस भित्रका युवा पुस्ताको ठूलो समूहले त्यसको खुलेरै विरोध गरेको छन्।
अर्याल २० वर्षअघि भएको स्थानीय निर्वाचनमा विराटनगरको मेयरमा एमालेका उमेदवारसँग पराजित भएका थिए । उमेदवार चयन गर्न विहीबार काँग्रेसका केन्द्रीय नेताको उपस्थितिमा जिल्ला पार्टी कार्यालयमा बैठक चलिरहँदा युवा अभियानको ब्यानरमा भुईंतलाको सभा हलमा युवा नेतृत्वले वृहत छलफल आयोजना गरिएको थियो। यो अभियानलार्इ महानगरका सबै वडा तथा जिल्ला तहसम्म बढाइने कार्यक्रममा जानकारी दिइएको छ।
अभियानका संयोजक तथा युवा नेता हरि भट्टराईले भन्नुभयो,‘जनस्तरमै लोकप्रिय र विजयी हुने ताकत राख्ने युवा हुँदाहुँदै उनीहरुलाई वाइपास गरिन्छ भने हामी चुप लागेर बस्दैनौं। युवा सचेत छौं विराटनगरमा अरु महानगरको जस्तो काँग्रेसको पराजय नहोस भन्ने हाम्रो चाहना हो।’
काँग्रेस महासमिति सदस्य तथा युवा नेता केदार कार्कीले ‘पुरानालाई सांसद बन्न, मन्त्रीबन्न र त्यसभन्दा पनि अघि बढ्ने बाटो भएकाले फेरि जहाँबाट सुरु गरेको त्यतै नफर्कन आग्रह गर्नुभयो।’ कार्कीले जनताले चाहेजस्तो उमेदवार दिन काँग्रेसको केन्द्रीय नेतृत्वलाई युवाले सचेत गराउन अभियान सुरु गरेको बताउनुभयो। युवालाई अवसर नदिए सानेपा र बुढानिलकण्ठ गएर धर्ना तथा आमरण अनसन गर्नुपर्ने अवस्था आउने उहाँले चेतावनी दिनुभयो।
युवा नेता दामोदर कोइरालाले युवा उम्मेद्वारलाई प्राथमिकता दिन माग गर्दै भन्नु भयो,‘पार्टीलाई बचाउने हो भने मनोगत हिसाबले निर्णय गरिनु हुन्न।’उहाँले आवेग र उत्तेजनाको आधारमा युवालाई एक्ल्याउने काम नगर्न आग्रह गर्नुभयो।
कांग्रेसबाट मेयरका दाबेदार भीम पराजुलीले भन्नुभयो, ‘टिकट बाड्ने प्रजातान्त्रिक पद्धति नहुदा चुनावमा नेताले टिकट दिने र जनताले मान्नु पर्ने अवस्था रहेको छ।’ उहाँले टिकट दिने प्रणालीमै सुधार गर्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो। कसैले जनभावना विपरित सानेपाबाट टिकट लिएर आए त्यस्तो टिकट फिर्ता गराउने क्षमता पनि युवाहरूमा रहेको उहाँको भनाइ छ।
0 Comments