लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनले आज आफ्नो रजत महोत्सवको समापन सहित २६औं बार्षिकोत्सव मनाउन लागेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले गत बर्ष उद्घाटन गरेपछि बर्षभरी विभिन्न कार्यक्रमका साथ मनाइएको रजत महोत्सवको समापन पनि सभापति देउवाले गर्न लाग्नु भएको छ ।
अहिले केहीबेरपछि सभापति देउवा सहित काँग्रेसका नेताहरुको उपस्थीतिमा विषेश कार्यक्रमको आयोजना गरिएको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो ।
श्रमजीवि पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्धेश्यलले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।
युनियनले श्रमजिवी पत्रकारका पेशागत तथा भौतिक सुरक्षा लगायतका हक, हितका लागि क्रियाशिल हुदै आएको सिवाकोटीले बताउनु भयो । देशभरी करिव आठ हजार पत्रकार आवद्ध रहेको युनियन अन्तराष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो ।
नेपाल पत्रकार महासंघले भन्दा पहिले सदस्यता पाएको युनियनलाई अहिले महासंघ विवादमा पर्दै जानथालेपछि श्रमजिविहरुको अगुवा र भरोसायोग्य संस्थाका रुपमा विकसित गर्नु पर्ने आवाज उठिरहेको छ ।
अहिले युनियनका ७२ जिल्लामा जिल्ला शाखा, कैलालीमा लम्की उपशाखा तथा काठमाडौंमा साँखु उपशाखा गरी २ ओटा उपशाखा र ७ वटा प्रतिष्ठान शाखा रहेको छ ।
विशेषगरी प्रजातन्त्रलाई संस्थागत गर्दै श्रमजीवीका हकहितमा आवाज उठाउने उद्देश्यका साथ स्थापना गरिएको नेपाल प्रेस युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्तीका लागि संघर्ष गर्दैआएको छ । श्रमजीवी पत्रकार ऐन २०५१ निर्माण, नेपालको अन्तरिम संविधान २०६३ मा रहेका स्वतन्त्र प्रेस सम्बन्धि हक, सूचनाको हक सम्बन्धी ऐन २०६४ र यस अन्तर्गत स्थापना गरिएको सूचना आयोग स्थापनामा नेपाल प्रेस युनियनको भूमिका उल्लेखनीय रहेको छ ।
युनियनले संशोधित श्रमजीवी पत्रकार ऐन र सूचनाको हकसम्बन्धी ऐन पूर्ण रुपमा लागू गर्न आजका मितिसम्म पनि दबाब दिइरहेको छ । लोकल्याणकारी विज्ञापनको रकममा बृद्धि र मोफसलका पत्रपत्रिकालाई दिनुपर्ने थप सुविधाका सन्दर्भमा पनि युनियन लड्दै आएको छ । २०४६ साल पछि संचार क्षेत्रका लागि उर्वर रहेको नेपालको राजनीतिक परिवेशमा युनियनको स्थापना मात्र भएन हजारौं युवाहरुलाई व्यवसायिक संचारकर्मी बनाउने कार्य पनि युनियन मार्फत पर्याप्त भएको देखिन्छ ।
0 Comments