काठमाडौ, जेठ ।
निर्वाचन आयोगले पछि थप गरिएको स्थानीय तहको प्रतिवेदन नपाएको गुनासो गरेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगलाई तह थपिएको प्रतिवेदन पठाउँदै राजपत्रमा समेत प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तह स्वतः कार्यान्वयनमा आउनेछन् । यो सँगै ७ सय ४४ स्थानीय तहको संख्या अब बढेर ७ सय ६६ पुगेको छ । पछिल्लोपटक २३ स्थानीय तह थप गरिएको छ भने पर्सामा एउटा गाउँपालिका घटाइएको छ ।
आयोगले प्रतिवेदन नआएको भन्दै जेठ ३१ मा थपिएका तहको निर्वाचन गर्न समस्या हुने भन्दै बिहीबारमात्र असन्तुष्टि जनाएको थियो । आयोगको असन्तुष्टिलगत्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारले गत सोमबार मधेस केन्द्रीत दलको माग पुरा गर्न दुई उपमहानगरलाई महानगर र २४ गाउँपालिकालाई नगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थपेको थियो ।
तर, निर्वाचन आयोगले भने साविकका ४६१ स्थानीय तहमा मात्र जेठ ३१ मा निर्वाचन गर्न सकिने प्रष्ट पारेको छ ।
0 Comments