Ticker

6/recent/ticker-posts

कांग्रेस सभापति शेरवहादुर देउवालार्इ ३९१ सांसदको साथ

काठमाडौ, जेठ ।
चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लाग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमलगायत केही साना दलले उहाँलाई पनि समर्थन गरिसकेका छन् । देउवालाई मंगलबारसम्ममा ३ सय ९१ सांसदको समर्थन रहेको उहाँका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने दलहरू धेरै भए पनि केही दल मात्रै तत्काल सरकारमा जानेछन् । सरकारको मुख्य घटक माओवादी केन्द्र र कांग्रेसबीच नै मन्त्रालय भागबन्डाका विषयमा अन्तिम निर्णय भइसकेको छैन । देउवानिकट एक नेताका अनुसार प्रधानमन्त्री चयन भएपछि मंगलबार साँझ सानो मन्त्रिमण्डलको नाम टुंगो लगाउने तयारी छ । ुसम्भवतः बुधबार प्रधानमन्त्रीको शपथ हुने भएकाले मंगलबार साँझसम्ममा माओवादी र कांग्रेसबाट पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रालय र मन्त्रीको टुंगो लाग्नेछ ।
स्रोतका अनुसार पहिलो चरणमा कांग्रेस र माओवादीबाट तीन–तीन जना र फोरम लोकतान्त्रिकबाट एक गरी सात जनाको मन्त्रिमण्डल बनाउने तयारी छ । त्यसको साता दिनपछि मन्त्रिमण्डलमा केही सदस्य थपेर विस्तार गर्ने र मन्त्रिमण्डललाई पूर्णता भने असार १४ गतेको स्थानीय चुनावपछि मात्रै दिने तयारीमा देउवा हुनुहुन्छ । स्थानीय चुनावका लागि पनि केही मन्त्रालयमा मन्त्री आवश्यक पर्ने भएकाले गृह, अर्थ, स्थानीय विकास, कानुनलगायत मन्त्रालयमा बुधबार नै मन्त्री तोक्ने तयारी छ । गृह मन्त्रालय माओवादी केन्द्र र अर्थ मन्त्रालय कांग्रेसले लिने सहमति दुई दलबीच भइसकेको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउने लगभग टुंगो लागिसकेको स्रोतको दाबी छ ।
पार्टीभित्र विवादबीच सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा आउने वा नआउने विषयमा पनि अझै टुंगो लागेको छैन । कांग्रेस र माओवादीभित्र भने संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने लिखित सहमति नभएसम्म उसलाई सरकारमा सहभागी गराउन नहुने दबाब छ ।

Post a Comment

0 Comments