काठमाडौ, जेठ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । शपथकै दिन कांग्रेससहित सत्तासाझेदार दलका केही नेतालाई देउवाले सरकारमा सहभागी गराउने छन् । स्थानीय तह निर्वाचनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने रणनीतिमा रहेका देउवाले गृहमन्त्रालयको जिम्मेवारीसहित कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री बनाउने सम्भावना रहेको स्रोतको दाबी छ । दाहाल नेतृत्व सरकारका ऊर्जामन्त्री जनार्दन शर्मा पनि देउवा नेतृत्व सरकारमा दोहोरिने सम्भावना छ ।
केही दिनअघि दाहाल नेतृत्व सरकारमा सहभागी विजयकुमार गच्छदारले पनि देउवासँगै उपप्रधानमन्त्रीको शपथ लिनेछन् । उनको दलबाट अहिले सरकारमा सहभागीले पनि निरन्तरता पाउने एक नेताले बताए ।
देउवा नेतृत्व सरकारमा सहभागी हुन कांग्रेसभित्र धेरै आकांक्षी छन् । संवैधानिक व्यवस्था अनुसार संसद्को आयु माघ ७ गते सकिने भएकाले कांग्रेस सांसद् मन्त्री बन्न लबिङमा छन् । उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन कांग्रेस नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, रामशरण महत आकांक्षी छन् । त्यस्तै, नेताहरू महेश आर्चाय, मीनेन्द्र रिजाल, नारायण खड्का, बलबहादुर केसी, मीन विश्वकर्मा, रामकृष्ण यादव, भरतबहादुर शाह, बीरबहादुर बलायर, एनपी साउद, भीष्मराज आङ्दम्बे, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय, फर्मुल्ला मन्सुर, पदमनारायण चौधरी, ध्रुव वाग्ले, चीनकाजी श्रेष्ठ, किरण यादव, भीमसेनदास प्रधान, उदय समशेर राणा, मोहनबहादुर बस्नेत पनि मन्त्रीका आकांक्षी छन् ।
त्यस्तै, बद्री पाण्डे, मानबहादुर विक, जीवन परियार, ध्यानगोविन्द रञ्जित, महेन्द्र यादव, अर्जुनप्रसाद जोशी, रामहरि खतिवडा, बहादुरसिंह थापा, बहादुरसिंह लामा पनि मन्त्री बन्न लागिपरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनलाई निरन्तरता दिँदै स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराएर संविधान कार्यान्वयन र आर्थिक विकासलाई अघि बढाउने दाबी गरे । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवालाई प्रस्ताव गरेपछि संसद् भवन परिसरमा दाहालले मुलुकमा प्रचुर सम्भावना र चुनौती पनि उत्तिकै रहेकाले सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
0 Comments