काठमाडौ, जेठ ।
मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएकोे मौसमविद् सुवास रिमालले जानकारी दिए ।
सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यसवर्ष भने नेपालमा मनसुन चाँडो हुने देखिएको हो । दक्षिण एसियामा, मनसुन बंगालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि भित्रिने अनुमान महाशाखाले गरेको छ ।
पूर्व मनसुन र मनसुनको संघारमा रहेकाले नेपालमा अहिले मौसम बदलीसँगै वर्षात् गराएको मौसमविद् रिमालको भनाइ छ ।
यसका साथै बंगालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त हावा तथा भारतको विहार आसपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असरस्वरुप नेपालका धेरै स्थानमा बदली भएको छ । योसँगै मनसुन रेखापनि स्थापित हुँदै गरेकाले बदली र वर्षात् गराएको हो । देशभरि नै वर्षात् गराउने प्रणाली विकास भएकाले मंगलबार र बुधबार सामान्यभन्दा ठूलो वर्षात् हुने र देशका धेरै स्थानमा बदली रहने मौसमविद् रिमालले बताए ।
0 Comments