Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

– वसन्तप्रकाश 
म ठमठम हिंड्दै थिएँ, उनी लरखराएको अवस्थामा भेटिए ।
‘धन्य पचास रुपियाँ थिएन र ज्यूँदो भेटिएँ ।’ उनले भने । अप्रत्यासित थियो परिदृश्य मेरा लागि । नजिकै थियो चिया पसल र मैले उनलाई त्यतातिर लगें ।
प्लाष्टिकका कुर्चीमा बस्नासाथ कडा स्वरमा मैले भनें : ‘यो त भएन नि दिउँसै दीपकजी !  त्यसमाथि बिरामी मान्छे !’
उनले जवाफ दिए : ‘पैसा भएको भए मेटासिड खान्थ्यें । पैसा थिएन, त्यसैले पाँच गिलास लोकल उधारो खाएँ र आएँ ।’
भक्कानियो परिवेश यसपछि । उनी पीडा सुनाउँदै थिए । म द्रविभूत बनें । मेरो उकुसमुकुसलाई उनीसँगको ‘फ्ल्यासब्याक’ले झन् छोइरहेको थियो ।
करिब पौने घण्टा, म अल्मलिएँ त्यहाँ । उनको अवस्थाबारे यसअघि केही गर्ने प्रयत्न गरेको थिएँ । खासगरी नायक दिनेश शर्मा र निर्देशक सुरज चन्दले ‘रामजाने’ नामक चलचित्रको च्यारिटी शो गर्दै दीपक क्षेत्रीका लागि उपचार कोष खडा गर्दा म संलग्न भएको थिएँ । पछि गृहमन्त्रालय मार्फत् आर्थिक सहयोगका लागि एउटा निवेदन गृहमन्त्री विमलेन्द्र निधि समक्ष उनका पीए यज्ञ बोहोरा मार्फत् पु¥याइएको थियो ।
‘तोक’ नलागेको ‘निवेदन’को काम हुँदो रहेनछ । धेरै कुरा सरकारी ‘आसचपु’को नसुनेको होइन । आर्थिक सहायता कि राजनीतिक ‘चलखेलका खेलाडी’ले पाउँथे, नभए कि दलका ‘स्वस्थ्य र तन्दुरुस्त कार्यकर्ता’ले विरामीका नाममा भेट्थे । कैयौं बाहुवलीले थैलाभरि विना भरपाई चेक लिएको सुनिएकै कुरो हो । तर एउटा निरीह कलाकर्मीलाई त्यो ‘नसिब’ भइरहेको थिएन । बेलाबखत म सम्झाउँथें कलाकार क्षेत्रीको समस्यालाई निधि समक्ष । निधिले ‘विधि’को कुरा गर्दथे । ‘हुँदैन’ नभन्ने तर काम नबन्ने अवस्था थियो । सरकारी संरचनामा ‘भानुभक्तको भोलि’ मेरा लागि नौलो थिएन । तर दीपक सधैं सम्वादमा काम नभएको ‘निराशा’ पोख्दथे ।
यो भेटपछि दीपकसँग उम्कने मैले एउटै बाटो देखें र भनें : ‘अब म लेख्छु है यी कुरा...।’ उनले आजित टिप्पणीमा भनेका थिए – ‘लेखेर केही हुन्छ र भन्या ?’

.....   .....    ......
उनीसँग ‘उम्केर’ लेख्न बसें । मनभरि ‘गुम्फन’ थियो । दीपकले बाँचेको विगतमा हराएँ केहीबेर । केहीक्षण उनीसँग बिताएका दिनहरुमा छिरें । उनको हठ्ठाकट्टा शरीर नाचिरह्यो आँखामा केहीबेर । लेख्दै गएँ ... लेख्दै गएँ ... । कुरो धेरै थियो । तर मनभित्र एउटै जिज्ञासा उठिरहेको थियो र बीट मारें : ‘लेखेर केही हुँदैन त ?’
पहिले आफ्नै ‘फेसबुक’मा पोष्ट गरें । एकाध घण्टा नहुँदै ‘लाइक र कमेन्ट’को  शृङ्खला अनपेक्षित ढंगले बाढी लाग्यो । भाइ लीलाराज खनाल मार्फत् थाहा खबरका भाइ रविराज बरालले त्यसलाई समाचार बनाउन अनुमति माग्नुभयो । केही क्षणमै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले ‘शेयर’ गर्दै सबैको ध्यानाकर्षण गराउनुभयो । क्रमशः साथीभाइ र शुभचिन्तकबाट दीपकको सम्पर्क नम्बरदेखि बैंकको खाता नम्बर खोजी हुन थाल्यो ।
धेरै लेखें मैले । विचार यसरी ‘सल्केको’ कहिल्यै देखेको थिइन ।
जिन्दगीका भोगाइ, पीडा र मर्मका थुप्रै प्रसंगमा कलम चलाइएकै हो । मन–मस्तिष्क यसरी ‘उद्वेलित’ भएको यसअघि कुनै घटनाक्रमको अनुभूति मसँग छैन ।
एक त दीपकको योगदान–विगत । अर्कोतिर त्यो परिचयले नपाएको सामाजिक न्याय । अनि सँगसँगै दीपकको वर्तमानमाथि मैले उठाएका सवालहरु ... । यसले क्रमशः क्रमशः धेरै चिरपरिचित र अपरिचितबीच चासो, चिन्ता र चिन्तन गर्नुपर्ने अवस्था जन्माएछ । यस्ता चर्चा परिचर्चाबीच दीपकजी सँगै थिएँ र मैले उनलाई सुनाएँ । सुन्न त उनले सुने कुराहरु । तर पटक्कै उनमा उत्साह–उमंग केही देखिएन । उल्टो उनी भनिरहेका थिए– ‘तपाईंको यो विचार केवल बालुवामा हालिने पानीजस्तै नहोस् वसन्तजी !’

....  ....    ......   ......
धेरै संघर्षका कथाहरु नलेखेको होइन मैले । दशकौं अघि कलाकार गोपाल भुटानीको ‘अनागरिक–पीडा’ बारे शब्दचित्र कोरेकै हो । दुई दशकअघि शान्ति मास्केको ‘पेसमेकर–पीडा’को ‘पोट्रेट’ तयार पारेकै हो । डम्फू संघर्षको व्यथाले स्थापित जयनन्द लामाको ‘समर्पण–सेलो’ लेखेकै हो । मेरो कलमले ‘न्यायिक हरित परिवेश’ खोजिरहँदा कहिल्यै उनीहरुका ‘दर्द र डढेलो’ कम भएको थिएन । जिन्दगीमा लेखन दिनचर्याको एउटा पाटो मानेर चित्त बुझाउनु बाहेक कुनै पनि घटनाक्रमले ‘ओखती’ जुटाउन सकेको थिएन । फगत् देखेको भोगेको र सुनेको ‘प्रेसक्रिप्सन’ मात्रै तयार पारेझै अनुभूत हुन्थ्यो ।
जवाफ दिनुथियो– दीपकजीलाई । मैले भनें ः ‘मित्र ! बालुवामा थोरै पानी हाले मात्रै त्यो सुक्ने हो । धेरैभन्दा धेरै पानी बालुवामा खन्याउन सके जहींतहीं ‘डुबुल्की’ बन्छ ।’ गम्भीर टिप्पणीमा उनी फिसिक्क हाँसेका थिए र बाटो लागेका थिए ।

..... ....     .......
दीपकको यस्तो जबर्जस्ती ‘हाँसो’भन्दा उनका धेरै विन्दास शैलीका हाँसोहरु मैले देखेको छु । ‘अट्टहास’मा रेडियोका रुपकमा होस् या सिनेमाको खलनायकी र ‘राक्षसी शैली’मा किन नहोस् दीपक बेजोड मानिन्थ्ये । एउटा दमदार गहु्रङ्गो आवाजमा उनीसँग नायक–नायिकाहरु ‘कायल’ बन्थ्ये । आज त्यो ‘आवाज’ छैन उनीसँग । घाँटीमा पलाएको मासुले छेकिदिएको छ – उनको आवाज र स्वास प्रवाहलाई । उनी भन्दै थिए – ‘यो क्यान्सर पनि हुन सक्छ ।’ भयावह क्यान्सर–सन्त्रास बोकेर ४÷५ लाखको जोहोमा उनी धेरै भौतारिएका थिए । साथीहरुले ‘साथ’ त दिएनन्–दिएनन् । उल्टो समयले ‘सन्त्रास र लात’ दियो उनलाई ।
पैसा र समय नचिनेको स्वीकारोक्तिमा दीपकले सुनाएका मर्म र मर्काहरु साह्रै बोझिला र दुरुह खालका थिए । रंगीन पर्दाका दिनहरु कल्पेर श्यामश्वेत सत्यमा उनले भनेका थिए– ‘यो मैले आफैले तय गरेको बाटो र यात्रा हो ।’ पाँचतारे होटलको शानदार जागिर, सुट–टाईको पहिरन अनि ‘रेभन’ चश्मा लगाएर हिंड्दा उनले देख्न र बुझ्न सकेनन् – रानीपोखरी सौन्दर्य । घण्टाघर छेउमै थियो र बजाइरहेको थियो – कठिनाइको बाह्र बजे घण्टी । दौडिरहेका थिए संचेतनाका एम्बुलेन्स र बजाइरहेका थिए कर्कश आवाजहरु । भेउ पाउन सकेनन् उनले ।
बागबजारका गल्छी र गल्छेडाका अनाम भट्टीहरुमा छिरेर उनले तन्काइरहे –मोजमस्तीका प्यागहरु । पुतलीसडकको पुष्कर सेकुवा र वंगाली रेष्टुरेण्टमा बसेर मुक्र्याइरहे– मुरइ र सेकुवाहरु । आम्दानी जति थियो– त्यो रमझममै सकियो । जिन्दगीको वासलात ऋणात्मक हुँदै गएको पत्तो उनलाई भएन । दिन÷समय बिते । अभिनय–आवाज लुटियो । उनी यस्तो ‘हालत’मा पुगे – ‘निरास डिल्लीबजार–मैतिदेवी’ उक्लने कि ‘हतास हतास रानीपोखरी’तिर फर्कने । दशकौं बिताएको र हिंडेको पुतलीसडक चौक र सन्त्रासमा उनी गल्दै र थाक्दै थिए ।
लेख्दै गर्दा मन ‘रोकियो’ केहीबेर । विचार प्रवाह छेकियो निक्कैबेर । कोरा भावुकता र खोक्रो आदर्शमा मैले धेरैबेर तानिरहें–सिग्रेट । थाहा थियो – हानिकारक छ मेरा लागि पनि त्यो । बुझेरै–जानेरै गरिएको ‘गल्ती’ थियो । उनले झै मैले सिग्रेट ‘लत’ जसरी छोड्न सकेको थिइन, उसैगरी त्याग्न सकिनँ – सत्य निष्ठा र स्वप्न परिवेशको ‘लेख’ लेख्न । जसरी निरुत्तर हुने डरमा प्रश्न उठाएको थिएँ, उसैगरी छोएका मनहरुले जवाफ दिए– लेखेर धेरै चीज हुनेछ ... हुन्छ र हुँदोरहेछ । साधुवाद ती सबैलाई, जसले दीपकले उठाएका धेरै प्रश्नसँगै मेरो प्रश्नको पनि जवाफ दिनुभयो । दीपकका लागि उपचारको आवश्यक रकम मात्र होइन, आगतको आशा बचाउन सक्नेसम्मको धनराशि जम्मा भएको छ  यतिखेर । शुभेच्छुकहरुको सदिक्षाजस्तै सदुपयोग होस् त्यसको, यही कामना छ ।
(साभारः कान्तिपुर काेशेली)

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply