काठमाडौ, जेठ ।
एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत मंगलबार नेपाल यमनसँग खेल्दै छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजे नेपाललाई इतिहास बनाउने मौका छ । यमनसँग भएको दुई भेटमा नेपाल पराजित भएको छ । सन् २००० मा एएफसी एसियन कपमै नेपाल यमनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यस्तै सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
मंगलबार सम्हालिएर खेल्ने र आफ्ना गल्तीहरुलाई सुधार गर्ने नेपाली टिमका कप्तान विराज महर्जन र प्रशिक्षक ग्योतुकु कोजुले बताएका छन् । यमनसँगको खेलको तयारीका लागि गएको साता नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा नेपाल २–० गोल अन्तरले पराजित भयो । नेपाली टिममा सधैँ देखिने कमजोरी मिलेको अवसरमा गोल नहुनु भारतमा पनि दोहोरियो । डिफेन्सको साना गल्तीले नेपाल भारतसँग पराजित भएको थियो । मंगलबार यमनविरुद्ध त्यस्ता गल्ती नदोहोरिने खेलाडीले बताएका छन् ।
मंगलबारको खेलका लागि स्ट्राइकर अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । उनीसँगै २३ सदस्यीय टिममा एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बल र राजेन्द्र रावलले पनि ठाउँ पाएका छन् । उनीहरु भारतसँगको खेलमा समावेश थिएनन् ।
यस्तै नेपाली टिममा विकेश कुथु, किरण कुमार लिम्बु र एलन न्यौपाने गोलकिपर छन् । डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छन् ।
मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल छन् । फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र बिमल घर्ती मगर छन् ।
यमनका प्रशिक्षक इब्राहिम नेब्राटोले पनि आफूहरु बलियो रहेको बताएका छन् । जितमा अग्रसर भएर खेल्ने उनको धारणा छ । फिफा वरियतामा यमन नेपालभन्दा ४५ स्थान अघि छ । नेपाल १ सय ६९ औँ स्थानमा छ भने यमन १ सय २४ औँ स्थानमा छ ।
0 Comments