काठमाडौं, जेठ । दोस्रो चरणको निर्वाचनपछि मात्र संविधान संशोधन हुने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ट पारेपछि राष्ट्रिय जनता पार्टी चुनावमा नजाने निष्कर्षमा पुगेको छ।
चुनावअघि स्थानीय तहको संख्या वृद्धि र संविधान संशोधन दुवै नहुने स्थिति देखिएकाले चुनावमा नजाने निष्कर्षमा पुगेको राजपा नेताले बताएका छन्। पछिल्लो तीनबुँदे सहमतिअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाएका मुद्दा फिर्ता लिने, सहिद घोषणा गर्ने र क्षतिपूर्ति दिने निर्णय गरे पनि कार्यान्वयन प्रक्रियामा नगएको आरोप राजपाका नेताले लगाएका छन्।
चुनावअघि संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने सर्त राखेका थियौं। दुवै सर्त पूरा हुने स्थिति देखिएन। त्यसैले चुनावमा नजाने निर्णय करिबकरिब भएको छ, राजपा नेता महन्थ ठाकुरले बताए । प्रधानमन्त्री देउवाले शुक्रबार संसद्मा चुनावपछि मात्र संविधान संशोधन हुने प्रस्ट पारेका थिए। त्यसपछि राजपा अध्यक्ष मण्डलका सदस्यले अनौपचारिक छलफल गरेका थिए। संविधान संशोधन हुने स्थिति नदेखिएकाले चुनावमा नजाने निष्कर्षमा आफूहरू पुगेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताए।
यता, राजपालाई चुनावमा सहभागी गराउन निर्वाचन आयोगले उम्मेदवारको मनोनयन आधिकारिक पुष्टि गर्ने नमुना हस्ताक्षर बुझाउन आह्वान गरेको छ। तर आयोगले दिएको समयभित्र नमुना हस्ताक्षर बुझाउन कुनै तयारी नभएको राजपा नेताले बताएका छन्।
0 Comments