विराटनगर, असार ।
तीन ठूला राजनीतिक दलका मेयरका प्रत्यासीले विराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाएर आर्थिक र औद्योगिक केन्द्रका रुपमा विकास गर्ने चुनावी मुद्दालाई पहिलो प्राथामिता दिएका छन् । महानगरका मेयर उम्मेदवारहरु कांग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल र माओवादी केन्द्रका भोगेन्द्र यादवको एउटै भनाइ छ, विराटनगर महानगरपालिका प्रादेशीक राजधानी । उनीहरु यसबेला आपसमा मिल्दाजुल्दा चुनावी मुद्दा लिएर मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् । तीनैजनाको चुनावी मुद्दाको पहिलो एजेन्डा महानगरपालिकालाई प्रदेशको राजधानी बनाएर औद्योगिक र आर्थिक केन्द्रका रुपमा विकास गर्ने पाइएको छ ।
प्रादेशीक राजधानीपछि कांग्रेसले हाम्रो र राम्रो विराटनगर निर्माणकालागि धुँवाधूलो र हिलोमुक्त सहर बनाउने एजेण्डा अघि सारेको छ । प्रत्यासी भीम पराजुलीले भने महानगरपालिकालाई भष्ट्राचार र गुण्डागर्दी मुक्त बनाउने योजना बुनेका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने र कोसी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालमा रुपान्तरण गरेर ऐकेडेमिक कार्यक्रम सुरुआत गर्ने कांग्रेसको चुनावी मुद्दा छ ।
बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने, विराट राजाको दरबारलाई विश्व सम्पदा सूचीमा राखी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने पराजुलीका ऐजेण्डा छन् ।
प्रादेशीक राजधानीपछि एमालेले प्रदेश नम्बर १ को साविक सीमाङ्कनलाई कायम गर्ने मुद्दालाई अघि सारेको छ । मेयरका प्रत्यासी विनोद ढकालले भने महानगरलाई आर्थिक र औद्योगिक राजधानीका रुपमा विकास गरेर स्वरोजगारको सिर्जना गर्ने योजना छ । सडक निर्माण, हरेक वडामा एक स्वास्थ्य चौकीको व्यवस्था, स्वच्छ खानेपानी, अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने, महानगरलाई शैक्षिक र स्वास्थ्य हबका रुपमा विकास गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्ने, आधुनिक खेल मैदानको व्यवस्था गरी महानगरलाई पर्यटकीय गन्तव्यका विकास गर्ने योजना गरेको ढकालले बताए ।
नेकपा माओवादी केन्द्रले महानगरलाई प्रदेश राजधानीसँगै सामाजिक न्यायसहित समृद्ध महानगरको अवधारणा अघि सारेको छ । मेयरका प्रत्यासी भोगेन्द्र यादवका अनुसार वाईफाई फ्रि विराटनगर, गरिबी न्यूनीकरण, उद्योग व्यवसायको समुचित विकास, बालमैत्री तथा स्मार्ट सिटी बनाउने चुनावी मुद्दा छन् । महानगरमा नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने विराटनगर विमानस्थललाई अन्तरमहादेशीय विमानस्थल बनाउने, कोसी राजमार्गलाई भारत र चिनसँग जोडेर विराटनगरमा बृहत् बन्दरगहाको स्थापना गर्ने, विराटनगर कारागारलाई लोकतान्त्रिक कारागार बनाउने, विषादीमुक्त किचेनको अवधारणा ल्याउने, मुस्लिम समुदायको मातृभाषामा पढने व्यवस्था गर्ने, गरिव र प्रसूतिका लागि अलगअलग अस्पतालको व्यवस्था गर्ने, केसलीया र सिंघीया खोलामा शवदहन र कर्वस्थान बनाउने, विराट राजाको दरबारलाई संग्रहालाय बनाएर धार्मिक पर्यटकीयस्थल बनाउने र बन्द उद्योग सञ्चालनमा ल्याउने आफ्नो चुनावी एजेण्डा रहेको यादवले बताए ।
0 Comments