Ticker

6/recent/ticker-posts

महेन्द्र शान्ति स्कुल बालकोटमा व्याकुल माइला

अध्यक्ष कार्कीद्वारा ५ लाखको अक्षयकोष स्थापना
बलराम प्यासी
भक्तपुर, असार । राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) सुर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोटको ६५ वर्ष पुरानो सामुदायीक विद्यालय महेन्द्र शान्ति माविको वार्षिक पुरस्कार वितरण कार्यक्रममा सहभागी हुनुभएको छ । 

गतवर्षको माद्यमिक शिक्षा परीक्षा एसईई उतिर्ण विद्यार्थीका साथै कक्षागत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणका लागि व्याकुल माइला त्यहाँ जानुभएको हो । एसइइमा सो विद्यालयका २७  जना उतिर्ण भएका थिए । 

कार्यक्रममा उहाँले विद्यार्थीसंग उभिएर राष्ट्रिय गान गाउनुका साथै एसइइ उतिर्ण  वद्यार्थी र कक्षागत उत्कृष्टलाई पुरस्कार वितरण गर्नुभयो । सोही अवसरमा उहाँले विद्यालयबाट सेवा निवृत भएर जानलाग्नुभएका विज्ञान शिक्षक ऋषवदेव बुढाथोकीलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र दिएर विदाई पनि गर्नुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार कार्कीले विद्यालयको तर्फबाट व्याकुल माइलालाई भादगाँउले टोपी लगाएर सम्मान गर्नुभएको थियो ।   
कार्यक्रममा व्याकुल माइलाले आफ्नो अनुभव बाँड्नुका साथै विद्यालयले गरेको प्रगतीको प्रशंसापनि गर्नुभयो । विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले विद्यालयको बारेमा जानकारी गराउँदै यसैे शैक्षिक सत्रदेखि विद्यालयले शिक्षा र मानवीकि विषयमा कक्षा शुरु गर्ने र व्यवस्थापनको कक्षाबारे छिट्टै निर्णय हुने जानकारी दिनुभयो । 
त्यस अवसरमा सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, स्थानीय समाजसेवी रोहितबहादुर राना क्षेत्री, विद्यालय निरीक्षक कुमार भट्टराई, वडा नं २ का अध्यक्ष कमलनाथ भट्टराई, विद्यालयका पुर्व प्रधानाध्यापक तारामान जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार कार्की लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार कार्कीले आफ्ना दिवंगत बुबा कृष्णबहादुर कार्की, आमा हिराकुमारी कार्की र दाजु अर्जुन कार्कीको स्मृतिमा विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको घोषणा गर्दै सो कोषको ब्याजबाट वर्षेनी सो विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने कुरा बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Post a Comment

0 Comments