काठमाडौ, असार ।
सरकारले रापजालाई पनि सरकारमा सहभागि गराउन प्रदेश नम्बर २ को निर्वाचन सार्ने गरेसंगै राष्ट्रिय जनता पार्टी(राजपा) भित्र विवाद चुलिएको छ । स्थानीय तहको निर्वाचनमा सहभागी हुने नहुने विषयमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालमा मतभेद देखिएको हो । प्रदेश–२ मा निर्वाचन सार्ने र प्रदेश–१, ५ र ७ मा १४ असारमा नै निर्वाचन गर्ने सरकारको निर्णयसँगै राजपा अध्यक्ष मण्डलका सदस्य दुई चिरामा विभाजित भएका छन्। राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादव सरकारको निर्णयको आलोचना गर्दै सशक्त आन्दोलन गर्ने पक्षमा उभिएका छन्।
तर राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरू महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा सरकारको निर्णयलाई सकारात्मक भन्दै निर्वाचनमा सहभागी हुने पक्षमा उभिएका छन्। अध्यक्ष मण्डलका संयोजक रहेका महन्थ ठाकुर भने तटस्थजस्तो देखिए पनि उनी पनि निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ।
महतो र यादवले सरकारको पछिल्लो निर्णयको कडा रूपमा आलोचना गर्दै आन्दोलन स्थगित नगरी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने र निर्वाचनमा सहभागी नहुने बताएका छन्।
सिंगो मधेसमा दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णय स्वीकार्य नभएको बताउँदै महतोले जारी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने र निर्वाचनमा राजपा सहभागी नहुने बताए। महतोको भनाइलाई नै समर्थन गर्दै यादवले सरकारको निर्णय मधेस र मधेसी जनताका लागि घातक भएको टिप्पणी गर्दै राजपा नेपाल निर्वाचनमा सहभागी नभई जारी आन्दोलनलाई नै निरन्तरता दिने बताएका छन्।
तर महेन्द्रराय यादव, भण्डारी, झाले सरकारको पछिल्लो निर्णय सकारात्मक रहेको भन्दै आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागी हुने संकेत गरेका छन्। सरकारले पछिल्लो निर्णयले सकारात्मक रहेकाले जारी आन्दोलन स्थगित गरेर निर्वाचनमा सहभागी हुने विषयमा निर्णय गरिने झाले बताए।
आन्दोलन जारी राख्ने वा स्थगित गरेर निर्वाचनमा सहभागी हुने भन्ने विषयमा निर्णय गर्नका लागि राजपा नेपाल अध्यक्ष मण्डलको बैठक शुक्रबार काठमाडौंमा बस्दैछ। अध्यक्ष मण्डलका सदस्यहरू आन्दोलनका क्रममा मधेसमा रहेकाले उनीहरूलाई शुक्रबार दिउँसोसम्ममा काठमाडौं आइपुग्न भनिएको छ।
यता यादव, भण्डारी, झा समूहले महतो, यादव समूहलाई पेलेरै जाने र जारी आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागी हुने आन्तरिक तयारीलाई तीव्र बनाएका छन्। अर्कातर्फ महतो, यादव समूहले यादव, भण्डारी, झा समूहलाई पेलेरै जाने र माग पूरा नभएकाले जारी आन्दोलनलाई सशक्त बनाउने आन्तरिक तयारीमा जुटेका छन्।
0 Comments