काठमाडौं, १६ साउन । माओवादी केन्द्रले प्रदेश नम्बर २ को निर्वाचनको तयारी तीव्र पारेको छ । केन्द्रीय सचिवालयको निर्वाचन समीक्षापछि आगामी सोमबार माओवादी शीर्षस्थ नेता प्रशिक्षण कार्यक्रम लिएर मधेस झर्ने भएका छन् । प्रदेश नम्बर २ को निर्वाचन आफ्नो पक्षमा पार्न माओवादीले प्रशिक्षण चलाउन लागेको हो ।
प्रशिक्षण दिन काठमाडौंबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसहितका शीर्षस्थ नेता मधेस झर्ने भएका हुन्। माओवादीले मधेसका आठ जिल्लाका जिल्ला सचिवालयस्तरका नेता–कार्यकर्तालाई सोमबार जनकपुर बोलाई प्रशिक्षण दिने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए ।
माओवादी शीर्षस्थ नेताले सोमबार दिनभर आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने साहले बताए । प्रशिक्षणमा आठ जिल्लाका जिल्ला सचिवालयस्तरका ६ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने अनुमान छ । ‘निर्वाचन आफ्नो पक्षमा पार्न शीर्षस्थ नेतृत्वले प्रशिक्षण दिनुहुन्छ,’ साहले भने, ‘प्रशिक्षणपछि निर्वाचन आफ्नो पक्षमा पार्न माओवादीले रणनीति बनाउँछ ।’
सचिवालय बैठकमा निर्वाचन हारेको विषयमा निर्मम रूपमा समीक्षा भएको माओवादी पोलिटब्युरो सदस्य गोपाल ठाकुरले बताए । ‘माओवादीले हारलाई अनुभवका रूपमा लिई प्रदेश नम्बर २ मा नतिजा राम्रो ल्याउने गरी काम गर्दै छ,’ उनले भने । निर्वाचन आफ्नो पक्षमा पार्न माओवादीले जनस्तरसम्म कार्यकर्ता परिचालन गर्ने योजना बनाएको छ ।
माओवादीले एक साताभित्र प्रदेश नम्बर २ का आठ जिल्लाका एक सय २७ स्थानीय तहका सबै उम्मेदवारको टुंगो लगाउने भएको छ । ‘यसभन्दा अघि ५० प्रतिशत उम्मेदवार फिक्स भइसकेको थियो,’ साहले भने, ‘आगामी एक साताभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्छौँ ।’ सबै तहका उम्मेदवार छिट्टै टुंगो लगाई प्रचारप्रसारलाई व्यापक बनाउने माओवादी योजना छ । हाम्रालाई भन्दा निर्वाचन जित्ने राम्रालाई उम्मेदवार बनाउने ठाकुरले बताए ।
आगामी तेस्रो चरणको निर्वाचनका लागि नयाँ शक्ति पार्टी अलमलमा परेको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भाँडिएपछि चुनाव चिह्न र तालमेलका विषयमा के गर्ने भन्ने विषयमा टुंगो नलागेको प्रवक्ता खिमलाल देवकोटाले बताए । ‘नयाँ शक्तिको सर्वोच्च निकाय केन्द्रीय कार्यकारी समितिलाई संघीय परिषद्ले विघटन गरेको छ,’ उनले भने, ‘केन्द्रीय कार्यकारी समिति नभएकाले पार्टीको सबै अधिकार संयोजक बाबुराम भट्टराईमा हुन्छ ।’ नयाँ पत्रिकामा समाचार छ ।
0 Comments