काठमाडौं, ३० असार । नेपाली कांग्रेसका संस्थापक नेता रामहरी जोशीको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको विहीबार राति निधन भएको हो । ९३ वर्षका जोशी नेपाली कांग्रेसका संस्थापकमध्येका हुन् ।
अल्का अस्पतालमा उपचार गराइरहेका जोशीलाई केहीदिन अघि ग्रान्डी अस्पतालमा लगिएको थियो । गान्धीवादी नेताका रुपमा परिचित जोशी सर्लाहीबाट २ पटक सांसद बनेका थिए । उनी शिक्षा र पर्यटनमन्त्री पनि बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटमार्फत समवेदना प्रकट गरेका छन् ।
केही वर्षयता ब्रोङकाइटिस, श्वासप्रश्वास, पिसाबलगायतका समस्याले ग्रस्त ९२ वर्षीय जोशीको पछिल्लो समय निमोनिया बिग्रेको थियो । उनी ७ असारमा अस्पताल भर्ना भएका थिए । २१ असारसम्म ललितपुरको अल्का अस्पतालमा उपचार गरेका उनलाई एक साताअघि ग्रान्डीमा भर्ना गरिएको थियो । भतिजा विष्णुका अनुसार केही समयता जोशीको स्मरण शक्ति पनि कमजोर बन्दैै गएको थियो ।
मिर्गौला र फोक्सोमा समेत असर देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले संस्थापक नेता जोशीको निधनले आफूलाई दुःखी बनाएको सामाजिक संजालमा लेखेका छन् ।
जोशीको पार्थिव शरीर शुक्रबार बिहान श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिनेछ । शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको भतिजा विष्णुले बताए ।
0 Comments