
अमेरिका, ३ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संविधान पुनर्लेखनका लागि संविधानसभाको चुनाव गराउने निर्णय भेनेजुएलाले अघि बढाए तत्कालै कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्।उनले प्रजातन्त्रका लागि संघर्ष गरिरहेको भन्दै भेनेजुएलाका विपक्षीहरुको प्रशंसा गरे। ट्रम्पले राष्ट्रपति निकोलास मडुरोलाई तानासाह बन्ने उद्देश्य बोकेका खराब नेताका रुपमा प्रस्तुत गरे।
यसैबीच राष्ट्रपति मडुरोले प्रस्ताव गरेको संविधानसभा चुनावको विरोधमा विपक्षीहरुले भेनेजुएलामा बिहीबारका लागि २४ घण्टे आमहडताल घोषणा गरेका छन्। एउटा अनौपचारिक जनमत संग्रहमा लाखौं भनेजुएलाका नागरिकले संविधानसभा चुनावको विपक्षमा धारणा राखेको भोलीपल्ट ट्रम्पले कडा शब्दको वक्तव्य जारी गरेका छन्।
ट्रम्पले भनेजुएलाका राष्ट्रपति मडुरोलाई तानासाह बन्ने सपना पालेकाु एक जना खराब नेता भन्दै उनले जनताको प्रजातन्त्र, स्वतन्त्रता र विधिको शासनप्रतिको निष्ठालाई बेवास्ता गरिरहेको बताएका छन्। उनले भनेजुएला तहसनहसहुँदा अमेरिका चुप लागेर नबस्ने भन्दै मडुरोको सरकारले जुलाई ३० मा संविधानसभाको चुनाव गराए अमेरिकाले त्यसविरुद्ध कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्।
एउटा विज्ञप्तीमा विपक्षी नेताहरुले आइतबार आफूहरुले गराएको अनौपचारिक जनमत संग्रहमा ७६ लाख मानिसले भाग लिएको जानकारी दिएका छन्। सरकारले उक्त मतदानलाई अवैधानिक र औचित्यहिन भनेको छ।तर त्यसको पर्यवेक्षण गरेका प्राज्ञहरुले लगभग सबै मतदाताले संविधानसभाको चुनावको विपक्षमा राय दिएको जनाएका छन्।
विपक्षीहरुले अब बुधवार नयाँ सरकार गठन गर्ने र शुक्रबार नयाँ न्यायाधीश नियुक्ति गर्ने बताएका छन्। विपक्षीहरुको पछिल्लो तयारीले भेनेजुएलामा समानान्तर सत्ताको अभ्यास हुने खतरा देखिन्छ।
विपक्षी दलहरुको संसदमा नियन्त्रण छ र उनीहरुले सन् २०१९ मा आफ्नो कार्यकाल सकिनु अगावै नयाँ चुनावको घोषणा गर्न राष्ट्रपति मडुरोसँग माग गरिरहेका छन्।
0 Comments