![]() |
- वसन्तप्रकाश उपाध्याय |
चर्को–घाम र घनघोर–वर्षामा ‘छाता’ ओढ्न नपाए त्यसको के काम ? छाता त्यही प्रयोजनका लागि हो । असोजपछि त्यो छाताको प्रयोजन त्यति छैन ।
छाताका बारेमा अनेकौं रोचक संयोग छन् । त्यसको रंग प्राय कालै हुन्छ । मन सफा छ कि धमिलो ? त्यसको अर्थ छैन । रंगी–विरंगी पनि छाता छन् । तर, त्यसले सूर्य–प्रकाशलाई कालो रंगले जसरी त्यति विघ्न परावर्तन गराउँदैन । बुझ्नुस् महाशयहरु ! यसैमा छ ‘कुरो’ ।
छाता र रेडियो बोकेर ससुराली जान्थे एकताका मान्छेहरु । रमाइलो र रोचक लाग्थ्यो त्यो परिवेश । हामी ससुराली जाने हुँदा ‘कोसेली–पातो’को संस्कार हटिसकेको छ । पारिबाट वारिको ससुराली–मावलीको प्रसंगमा धेरै कुरा छन् । स्वीकानुपर्छ हामीले स्नेह–सम्बन्धको पूल बन्यो भने ‘भूगोल’को कुराहरु अर्थहीन हुन्छन् ।
एक कवि भेटिन्थ्ये एकताका वागबजारतिर । आसामबाट नेपाली पढ्न आएका उनले कसो–कसो छड्काएछन् पर्वततिरको नागरिकता । बेलावखत भेट हुँदा उनी नागरिकता प्रसंग निकालेर गोजीबाट नागरिकता प्रमाणपत्र निकाल्दै हामीलाई देखाउँथे । एकदिन मैले उनलाई भन्नै परेको थियो– ‘महाशय ! तपाइंसँग ‘नेपाली’ भएको प्रमाणमा नागरिकता छ । हाम्रो त रगतको कण–कणमा त्यो मिसिएको छ ।’
नयाँ साधुहरुलाई खरानी प्यारो हुन्छ । भर्खरै सवारी चलाउनेहरु बेगवान कुद्न खोज्छन् । जसले बुझेको हुन्छ–प्रतीक्षा र धैर्यता, उसले हतार गर्दैन । देख्छु म धेरै मान्छेहरु जो यतिखेर ‘साल–तमामी’ हुन लाग्दा पनि एउटासम्म ‘चेक’ नपाएर उफ्रिरहेका छन् । महिना दिनसम्म ‘सत्ता–शासन’को राप र ताप नपाएर बौलाइरहेछन्– कतिपय । ‘सत्ता–असार’को ‘क्लोजिङ’मा बील भरपाई फस्र्यौट गर्न नपाएर छट्पटाइरहेका छन्– कैयौं ठेकेदारहरु ।
मौसमी–सम्बन्धको नाफा–नोक्सानमा धेरै कुरा हुँदारहेछन् । नजिकबाट देखियो । मैले देखेकै थिएँ– विद्यार्थी भर्ना ताका फोन नउठाउने प्रिन्सिपलहरु । गाईजात्रा महोत्सवमा पास माग्छन् भनेर मुण्टो बटार्ने कलाकारहरु चिनिएकै छ । दसै–तिहार ताका ‘खुद्रा नोट’ माग्लान् भनेर तर्कने ‘बैंकर’हरु भेटिएकै हो ।
यी भन्दा पृथक् अवकास–उन्मूख कर्मचारीहरुले ‘म्याद’ थप्न गिड्गिडाएको नवीन र ‘सुशील–आयाम’ भेटियो । रमाइलो लागिरहेछ, पक्कै अझै योभन्दा रमाइलो देख्न पाइनेछ । ‘सत्ता–माछा’ बजारमा जाल बोकेर हिडिरहेछन् माझीहरु– निथ्रुक्क रुझ्दै । ठिकै छ विचाराहरुको जालमा माछो परोस्–नपरोस् । तिनीहरुले छातासम्म ओढ्न पाए– कम्तिमा निमोनियाबाट त बच्थे ।
तर महाशयहरु ! पराजित जयप्रकाश मल्लले पृथ्वीनारायणसँग खोजेको ‘छाता’को विम्वजस्तो चाहिँ नहोस् है– तपाईंहरुको खोजी ।
0 Comments