काठमाडौं, साउन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ। सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रु १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई रु तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म रु एक अर्ब ३१ करोड २३ लाख ७० हजार निकासा भएको आयोगले जनाएको छ।
क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई रु ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई रु दुई करोड ६६ लाख ५८ हजार निकासा भएको पनि आयोगले जनाएको छ।
त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु एक अर्ब ५५ करोड ६५ लाख ६० हजार खर्च भएको जनाएको छ। निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा उक्त रकम खर्च भएको थियो।
स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो। सरकारले निकासा गरेको बजेटमध्ये रु एक अर्ब २५ करोड ४५ लाख बाँकी रहेको आयोगले जनाएको छ।
0 Comments