काठमाडौं, २ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भारतीय राष्ट्रपतिको चुनाव पछि मात्रै हुने भएको छ। त्यस अघि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भारत भ्रमणको दुई साता पछि देउवाको भारत भ्रमण हुने भनिए पनि भारत आफ्ना नयाँ राष्ट्रपति निर्वाचनमा व्यस्त भएकाले त्यस पछि मात्रै देउवाको भ्रमण हुने परराष्ट्र स्रोतले बतायो।
यद्यपि परराष्ट्र मन्त्रालयले देउवाको भारत भ्रमणको लागि तयारी भने तीव्र पारेको छ। परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो। परराष्ट्र स्रोतका अनुसार नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी रहेको छ।
भारतमा १४ औं राष्ट्रपति छनोटका लागि सोमाबार निर्वाचन भइरहको छ । निर्वाचन परिणाम घोषणा भने तीन दिन पछि २० तारिखमा मात्रै हुने भएको छ। त्यस पछि केही समय सपथ ग्रहणको लागि दिनुपर्ने भएकाले त्यो समयमा देउवाको भारत भ्रमण नहुने पक्का रहेको परराष्ट्रमन्त्री कृष्णबहादुर महरा निकट स्रोतले बतायो।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेको भए पनि अहिले त्यसबारे प्रधानमन्त्री कार्यलयमा कुनै जानकारी आइनसकेको बताए।
यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार २० गते फर्किएका थिए। उनले त्यहाँको दुईपक्षीय छलफलमा प्रधानमन्त्री देउवाको भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा छलफल गरेका थिए। प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिएका थिए।
परराष्ट्र अधिकारीहरुका अनुसार पनि देउवाको भ्रमणका विषयमा भारतीय दूतावास र परराष्ट्रबीच लगातार छलफल भइरहे पनि तिथि टुंगो लागेको छैन। परराष्ट्र, गृह, अर्थ, आपूर्ति, ऊर्जालगायत मन्त्रालयका कर्मचारीस्तरमा प्रधानमन्त्रीको यात्राका क्रममा राखिने विषयबारे छलफल भइरहेको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा खासै धेरै सम्झौतामा हस्तक्षर हुनेछैनन् । यसअघि भएका सम्झौता कार्यावन्यनमा जोड दिने तयारी नेपालको छ।
0 Comments