Ticker

6/recent/ticker-posts

साउन महिनाः हातमा हरियो चुरा र मेहन्दी विशेष

काठमाडौं, १ साउन । अाज साउन १ गते ।   हरेक वर्ष झैँ यस वर्ष पनि कर्कट संक्रान्ति (साउने संक्रान्ति) धुमधामका साथ  मनाइँदैछ ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ । साउने संक्रान्तिपछि नेपालमा चाडपर्वको लहर सुरु हुन्छ ।

साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । हाम्रो संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन ।

पछिल्लो समय साउन महिनामा महिलाहरुले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढ्दै गएको छ । घर देखि शहर बजार सबैतिर साउन सुरु भएसंगै महिलाहरुको गला हरियो पोतेले सजिएको हुन्छ भने हातहरु हरिया चुराले भरिएका हुन्छन् अनि पहिरन पनि हरिया हुन्छन् ।

विशेष गरी हरियो चुरा, पोते र मेंहन्दीले शहरबजारमा साउनको रौनक दिन्छ भने व्यापार पनि फस्टाउने गरेकाे छ । 

Post a Comment

0 Comments