काठमाडौं, ३ साउन । एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २–० ले पराजित भएको छ । पहिलो खेलमा आयोजक युएईसाँ ५–० को गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा पनि पराजित भएसँगै नेपालको छनोटको सम्भावना समाप्त भएको छ ।
खेलको १४औं मिनेटमा उज्वेकिस्तानका कप्तान उरिन्बोभ जाबीखिल्लोले टोलीलाई अग्रता दिलाउने सुवर्ण मौका चुकाएका थिए। सिक्स यार्ड बक्सबाट आएको लो क्रसमा किपरसँगै सबै डिफेन्डर बिट हुँदा बललाई पोष्टको दिशातर्फ दिन चुकेका थिए। उज्वेकिस्तानले निरन्तर आक्रमण गरेपनि नेपाली डिफेन्सले त्यसलाई विफल तुल्याएको थियो।
तर खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए। नेपालले केहि राम्रो आक्रमण सिर्जना गरेपनि त्यसको सदुपयोग भने गर्न सकेन।
दोश्रो हाफको ५८औं मिनेटमा कप्तान जाबीखिल्लोले जासुर्बेक याक्शीबोभको क्रसमा पाएको फ्री हेडरलाई पोष्टको दिशा दिन सकेनन्। ८०औं मिनेटमा उज्बेकिस्तानका गानिएभ अजिजोनले उत्कृष्ट वन टु पासको मुभ बनाउँदै उज्वेकिस्तानको अग्रता दोब्बर पारेका थिए। उनले नेपालको डी-बक्सको ठिक बाहिरबाट कप्तान जाबीखिल्लोसँग पास खेल्दै फिर्ती पास भने बक्स भित्र लिएर गोलरक्षक एलन न्यौपानेलाई बिट गरेका थिए।
खेलको ९०औं मिनेटमा गोलरक्षक एलन न्यौपानेले वन भर्सेस वनको स्थितिमा उत्कृष्ट सेभ गरेका थिए।
उज्वेकिस्तान २-०को जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। कुनै अंक जोड्न नसकेको नेपाल भने पुछारमै अड्केको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार लेबनानको सामना गर्नेछ।
0 Comments