काठमाडौं, २ साउन । भारतमा सोमबार नयाँ राष्ट्रपतिका लागि मतदान भइरहेको छ । भारतको १४ औं राष्ट्रपतिका लागि सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनबाट रामनाथ कोविन्द र विपक्षी कांग्रेस आई नेतृत्वको गठबन्धनबाट मिरा कुमार चुनावी प्रतिष्पर्धामा छन्।
रामनाथ विहार राज्यका पूर्व गर्भनर हुन भने मिरा कुमारले लोकसभाको सभामुखको रुपमा काम गरिसकेकी छिन्।राष्ट्रपतिको निर्वाचनको लागि करिब ९५ जनाले उम्मेदवारी दिए पनि अन्तिम प्रतिष्पर्धी भने रामनाथ र मिरा कुमार मात्रै रहे।
अहिलेसम्मको चुनावी अवस्था हेर्दा सत्तारुढ भाजपका उम्मेदवार रामनाथनै राष्ट्रपतिमा निर्वाचित हुने बलियो सम्भावना छ। उनले राष्ट्रपतिमा लगभग ७० प्रतिशत इलेक्ट्रोल भोट ल्याउने आकलन गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोविन्दलार्इृ राष्ट्रपतिको लागि अग्रिम बधाई दिइसकेका छन र उनले सरकारको तर्फबाट पूर्ण सहयोग हुने आश्वासन पनि दिएका छन्।
उता कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले राष्ट्रपति निर्वाचनको लडाई जसरी पनि लड्नुपर्ने बताएकी छिन्। गान्धीले यसलाई संकृण, विभाजनकारी र साम्प्रादायिक सोच विरुद्धको लडाई भनेकी छिन्। राष्ट्रपतिको चुनाव सोमबार भए पनि मतगणना भने बिहिवार मात्रै हुने छ। भारतमा राष्ट्रपतिको भूमिका कार्यकारी नभए पनि राष्ट्र प्रमुख र संविधानको संरक्षकका रुपमा लिइन्छ ।
निर्वाचनमा भारतको केन्द्रीय संसद (दुवै सदन)का सदस्य र राज्यका विधान सभाका सदस्यहरु मतदाता हुने व्यवस्था छ। प्रकाशित निर्वाचन कार्यक्रम अनुसार, आउँदो आइतवार निवर्तमान राष्ट्रपतिको विदाइ समारोह संसद् भवनको केन्द्रीय सभाकक्षमा हुनेछ । त्यसको दुई दिनपछि नव निर्वाचित राष्ट्रपतिलाई प्रधान न्यायाधीशले शपथग्रहण गराउने छन् ।
0 Comments