Ticker

6/recent/ticker-posts

एकहप्तापछि ‘फलोअप’ मा आउनेगरि पुर्वराजा डिस्चार्ज

उपचारप्रति विश्वास र सन्तुष्टि
बलराम प्यासी
काठमाडौं, साउन । गत ४ गते बुधबार नर्भिक अस्पताल थापाथलीमा भर्ना भएर मुटुको उपचार गरेका पुर्वराजा ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट शुक्रबार अपरान्ह डिस्चार्ज गरिएको छ । उनलाई एकहप्तापछि फलोअप परीक्षणको लागि आउन अस्पतालले सुझाएको छ । बुधबार सिसियुमा रहेका पुर्वराजालाई विहीबार अस्पतालको अति सुविधासम्पन्न अति विशिष्ट कक्ष ‘भिभिआइपि सुइट’मा सारिएको थियो ।  

पुर्वरानी कोमल अस्पतालमै थिइन भने उनलाई लिन छोरा पुर्वयुवराज पारस तथा बुहारी पुर्वयुवराज्ञी हिमानी नर्भिक अस्पताल पुगेका थिए । नाति नातिनी भने बिहीबार नै हजुरबुबालाई भेट्न अस्पताल पुगेको हुनाले डिस्चार्जको समयमा उनीहरु त्यहाँ थिएनन ।

डिस्चार्ज भएका पुर्वराजाको विदाईमा अस्पताल प्रागंणमा चिकित्सक र स्वास्थयकर्मीको टोली तथा अस्पताल प्रशासनका कर्मचारीको साथै सर्वसाधारणको भीड जम्मा भएको थियो । 

शुक्रबार डिस्चार्ज गर्नुअघि उनको उपचारमा संलग्न नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.यादव भट्टको टोलीले उनको स्वास्थ्य जाँच गरी शुक्रबार डिस्चार्जको लागि सुझाव दिएको थियो । पुर्वराजाको उपचारमा प्राध्यापक भट्टसहित टोलीमा मुटुरोग विशेषज्ञहरु डा केशव बुढाथोकी, डा.नगमा श्रेष्ठ, डा.शेखर राजभण्डारी डा.सन्तोषलाल श्रेष्ठ र एनेस्थिसियन डा.सुरेश लामिछाने संलग्न थिए । 

आफ्नो उपचार राम्रोसंग भएकोमा पुर्वराजा निकै खुसी देखिएका थिए भने उनले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थयकर्मी र अस्पताललाई धन्यवाद दिँदै उनीहरुसंग बसेर समूहगत तस्वीर खिचेका थिए ।  
अस्पतालबाट प्रायः शनिबार डिस्चार्ज हुने चलन नभएको र स्वास्थ्य अवस्थामा सुधार आएपछि अस्पतालमा शनिबारसम्म बस्नु उपयुक्त नभएकोले उनी शुक्रबार नै डिस्चार्ज भएका हुन । घरमा नियमति औषधि खानका लागि चिकित्सकले रगत पातलो गर्ने औषधि, कोलेस्ट्रोल नबढ्ने र अर्काे एकथरी औषधि लेखिदिएका छन् । पुर्वराजाको मुटुमा पटकपटक देखिने समस्याको कारण अरु केही नभएर वंशानुगत भएकोले नियमित व्यायामलाई निरन्तरता दिन चिकित्सकले उनलाई सुझाएका छन् । 

पारिवारिक चिकित्सक डा.किशोरजंग राणाको सल्लाह बमोजिम नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार नर्भिक पुगेका पुर्वराजाको मुटुको एन्जिओग्राफि गर्दा मुटुको नशामा खरावी देखिएपछि ततकल अस्पतालमा भर्ना गरेर एन्जिओप्लास्टी गरेर स्टेण्ट प्रत्यारोपण गरिएको थियो । 

नेपालका प्रायः उच्चपदस्थ अधिकारी तथा राजनैतिक दलका नेताहरु उपचारको नाउँमा राज्यकोषबाट लाखौं रुपैयाँ लिएर विदेशमा उपचार गर्ने गलत चलन बस्दै गएकोमा पुर्वराजाले आफ्नो उपचार नेपालकै अस्पतालमा गर्दा जनमानसमा राम्रो सन्देश गएको उनको उपचारमा संलग्न चिकित्सक र सर्वसाधारण बताउँछन ।

Post a Comment

0 Comments