काठमाडौ । महंगो रोगको रुपमा परिचित क्यान्सर लागेर अन्तिम अवस्थामा पुगेका विरामीहरुलाई कुनै तनाव विना उनीहरुको जीवनको अन्तिम समय सरल बनाउन भनेर अमेरिकामा विश्वका क्यान्सर विशेषज्ञहरुले नयाँ कार्यदिशा (गाइडलाइन) बनाएका छन् ।
पहिलो र दोस्रो चरणमा पुगेका क्यान्सर रोगीको समयमै उपचार गरिए रोग निको हुने र विरामी बाँच्नसक्ने संभावना बढी भएतापनि तेस्रो र चौथो चरणामा पुगेका विरामीहरुलाई बचाउन भने कठिन हुने चिकित्सकहरु बताउँछन ।
अन्तिम अवस्थामा पुगेका अर्थाता प्यालेटिभ केयरमा रहेका विरामीलाई औषधि उपचारको साथै सामाजिक, मनोपरामर्शका साथै धार्मिक र आध्यात्मिक ज्ञानगुनका कुरा सुनाएर उनीहरुको मरण सरल बनाउन विश्वव्यापीरुपमा नयाँ कार्यदिशा बनाइएको हो ।
अति विकसित, विकसित, विकासोन्मुख र विपन्न देशका क्यान्सर विरामीको अन्तिम अवस्थाको अध्ययन गरी ती मुलुकको जीवनशैली, सामाजिक अवस्था र उपचार पद्धतिलाई मध्यनजर गर्दै विरामीको अन्तिम अवस्था सरल बनाउन खोजिएको कार्यदिशा बनाउने कार्यमा सहभागी भएर अमेरिकाबाट फर्केका नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले राजधानीलाई बताए ।
विश्वप्रशिद्ध अमेरिकन सोसाइटी अफ ल्किनिकल अंकोलोजी (एस्को) ले विश्वका वरिष्ठ क्यान्सर विशेषज्ञको राय सुझावलाई समेटेर सो नयाँ कार्यदिशा बनाएको पनि डा.श्रेष्ठले बताए । कार्यदिशा तयार भएको र यसैमहिना छापिएर आएपछि सोही अनुसार संसारभरीका अन्तिम अवस्थाका क्यान्सर विरामीको जीवन सरल बनाइने कार्य थालिने पनि उनले बताए । डा. श्रेष्ठ सो संस्थाको स्टेयरिङ्ग कमिटिका सदस्य पनि हुन ।
0 Comments