बिराटनगर, २५ असार । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।
मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् ।
उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले मत पाइन् । चौधरीलार्इ एमालेले सघाएको थियो ।
महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि पहिलो चरणको चुनावमा ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।
भरतपुर महानगरपालिकामा विवादका कारण अहिलेसम्म परिणाम आउन सकेको छैन । अर्को कान्छो नगरपालिकामध्येको वीरगञ्ज महानगरपालिकामा भने चुनाव हुनै बाँकी छ । मेयरमा विजयी बनेपछि पराजुलीले बिराटनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने बताएका छन् ।
को हुन् भीम पराजुली ?
विक्रम सम्वत २०३१ साल चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेताको रुपमा स्थापित छन् । विराटनगरको जनता स्कुलबाट एसएलसी पास गरेका पराजुलीले महेन्द्र मोरङ क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन ।
विद्यालय स्तरमा नै राजनिति संग परिचित भएका पराजुली स्कुल समितिमा नेविसंघको अध्यक्ष भएका थिए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेद्वार उठेर प्यानललै विजयी गराएका पराजुलीको राजनीतिक छवी निकै प्रभावशाली छ ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् । पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताका लागि पनि रुचाइएका नेता हुन् । नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक निर्वाचित उनी यो पदमा अत्याधिक मतले विजयी भएका हुन ।
पराजुली राजनीतिमा जति सक्रिय छन् सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय । विभिन्न संघ संस्थामा आवद्ध पराजुली क्रिकेट संघ क्षेत्र नम्बर १ को अध्यक्ष पनि हुन् ।
उनी नेपाल विद्यालय फुटबल संघको राष्ट्रिय उपाध्यक्ष हुन् । अन्तरधार्मिक परिषद्, त्रिवेणी वाचनालय, आदर्श विध्यालय, पोखरिया ऋण सहकारील गायत २४ भन्दा बढी संस्थामा अध्यक्षको जिम्मेवारी सम्हालीसकेका छन् ।
0 Comments