Ticker

6/recent/ticker-posts

चुनावी परिणामः एमाले–१४८, कांग्रेस–१२२, मा.के.–३८

काठमाडौं,  असार ।  दोस्रो चरणको चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अब ३ वटा स्थानीय तहको परिणाम आउन बाँकी रहेको छ । विराटनगर महानगरपालिकाको परिणाम सार्वजनिक भएसँगै तीन तहको परिणाम आउन बाँकी रहेको हो । 

मत गणना जारी रहेका तीन तहमध्ये धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका छन् । पछिल्लो मत परिणाम अनुसार  धरान उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार तारा सुब्बा  अग्रस्थानमा हुनुहुन्छ । 

उहाँलाई कांग्रेसका तिलक राईले पछ्याइरहनुभएको छ । यस्तै उपमेयरमा एमालेकी मञ्जु भण्डारी अग्रस्थानमा रहँदा कांग्रेसकी श्यामा रेग्मी दोश्रो स्थानमा हुनुहुन्छ । मेयर र उपमेयरले ल्याएको मत परिणाम क्रमशः एमाले – १२२७३÷१२३३४, काग्रेस १०३९४÷९९७२ र माओवादी केन्द्र– ५६२३  छ । त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा एमालेका जीवन थापा ३ हजार ६ सय ६३ मतसहित अघि हुनुहुन्छ । उहाँलाई कांग्रेसका तोयाप्रसाद शर्माले ३ हजार ६२ मतसहित पछ्याइरहनुभएको छ । 

र झापाको अर्जुनधारा नगरपालिकामा पनि एमाले अघि छ । मेयरमा एमालेका हरि राणा अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई कांग्रेसका हेमराज खरेलले पछ्याइरहनुभएको छ । उपमेयरमा एमालेकै कमला आचार्य अघि हुनुहुन्छ । उहाँलाई कांग्रेसकी सरस्वती सिटौलाले पछ्याइरहनुभएको छ ।

हालसम्मको मत परिणाममा एमाले १४८ स्थानमा विजयी भएको छ । दोस्रो स्थानमा सत्तारूढ दल नेपाली कांग्रेस १ सय २२ स्थानमा विजयी भएको छ ।  तेस्रो स्थानमा रहेको माओवादीले ३८ स्थानमा जित हासिल गरेको छ । संघीय समाजवादी फोरम र नयां शक्तिको गठबन्धन ८ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ । एक उपमहानगरसहित राप्रपाले ४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन् ।

Post a Comment

0 Comments