बलराम प्यासी
काठमाडौ । ‘दिन विग्रेपछि कसैको केही लाग्दैन’ भन्ने बुढापाकाको भनाई यतिखेर महोत्तरी गाविस महोत्तरीका वृद्ध ओपेन्द्र झाको जीवनमा चरितार्थ भएको छ । आइतबार सर्पले टोकेर पनि उपचारपछि बाँच्न सफल भएका ओपेन्द्र आफुलाई बचाउन अस्पताल दौडाएका तिनै छोरा कपिलदेव झालाई भने २४ घण्टा नपुग्दै गुमाउन पुगे ।
ओपेन्द्रलाई उनकै घरनजिक आइतबार करेत सर्पले टोकेपछि छोरा कपिलदेवले उनलाई तत्काल उपचारको लागि जलेश्वर अस्पतालमा लगेर बचाएका थिए ।
करेत सर्पले टोकेर पनि मुस्किलले बाँचेका वृद्ध ओपेन्द्रलाई पुत्र वियोगको पीडा खप्न लेखेको रहेछ र पो म बाँचेका रहेछन, कपिलदेवका समकक्षी धनुषा जिल्लाका क्षयकुष्ठ अधिकृत रामगुलाम कर्ण भन्छन–‘यो जस्तो ठुलो पीडा के हुन सक्छ ?’ कपिलदेवकी आमा र श्रीमती दुवैजना सोमबार साँझसम्म वेहोस थिए ।

शबको पोष्टमार्टम गरेपछि सोमबार साँझ झाको गृहजिल्ला महोत्तरीमा लगेर झाको अन्त्येष्टि गरिएको क्षयकुष्ठ अधिकृतहरुको संस्था ‘डिटिएलओ एशोसियसन नेपाल’ का कार्यवाहक अध्यक्ष रामगुलाम कर्णले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरमा जिल्ला क्षयकुष्ठ अधिकृत (डिटिएलओ) पदमा कार्यरत ४९ वर्षिय कपिलदेव झा आफ्ना ६६ वर्षिय बाबु ओपेन्द्रलाई सर्पदंशको उपचारपछि आइतबार साँझ घरमा बसेर सोमबार विहान मोटरसाइकलमा आफ्नो कार्यक्षेत्रमा निस्केका थिए । शुक्रबार आफ्नो घर महोत्तरी गएका उनी आइतबार कार्यालय आउने दिनमा उनको बुबा ओपेन्द्रलाई सर्पले टोकेपछि त्यो दिन कार्यालय आउन पाएका थिएनन ।
महोत्तरीदेखि हेटौडा आउँदै गरेका उनलाई हेटौडा पुग्नु भन्दा केही वरै रातोमाटे नजिक उनी चढेको सरकारी नम्बर प्लेटको बा १ ब १८९९ नंम्बरको मोटरसाईकललाई लु १ प ४९९८ नंको बोलेरो जीपले ठक्कर दिँदा घटनास्थलमै झा को मृत्यु भएको थियो । उनी महोत्तरी घरबाट विहान ५ बजे मोटरसाइकल चढेर हेटँैँडाको लागि निस्केका थिए ।
एउटा गैरसरकारी संस्थाको आयोजनामा हेटौडाको एभोकार्डाे होटेलमा सोमबार आयोजना हुने क्षयरोगबारे एकदिने गोष्ठीमा भाग लिन उनी एकाविहानै घरबाट निस्केका थिए । गोष्ठीमा चितवन, धनुषा, मकवानपुर र महोत्तरीका जिल्ला क्षयकुष्ठ अधिकृतहरुको सहभागिता हुँदैथियो ।
स्वर्गीय झाको वृद्ध आमा, बुबा, श्रीमती, दुईछोरा र एक छोरी छन । उनको निधनमा ७५ वटै जिल्लामा रहेको क्षयकुष्ठ अधिकृतहरुको संस्था ‘डिटिएलओ एशोसियसन नेपाल’ले गहिरो शोक व्यक्त गर्दै मृतक क्षयकुष्ठ अधिकृत झाप्रति श्रद्धाञ्जली व्यक्त गरेको संस्थाकी निवर्तमान अध्यक्ष एवम् ललितपुर जिल्लाकी क्षयकुष्ठ अधिकृत देवी थापा गुरुङ्गले बताइन् ।
0 Comments