Ticker

6/recent/ticker-posts

नयाँ चलचित्रको तयारीमा निर्माता कृष्ण कोइराला

काठमाडौं, साउन । विगत १५ वर्षदेखि नेपाली फिल्म उद्योगमा निरन्तर लागिरहेको निर्माता कृष्ण कोइराला पुनः नयाँ चलचित्रको निर्माणमा जुटेका छन् ।  चितवनको भरतपुर महानगरपालिका–१२ स्थायी घर भएका कोइरालाले करिव ५० वटा चलचित्रमा काम गरिसकेका छन् । 

केही चलचित्रमा पर्दामा देखिए पनि अधिकांश चलचित्रमा उनी पर्दा पछाडिको नायक हुन् । उनले चलचित्रका साथै विभिन्न वृत्तचित्र तथा म्यूजिक भिडियो, टेलिचलचित्र तथा विज्ञापनहरुमा पनि आफ्नो दक्षता प्रदर्शन गरिसकेका छन् । नेपाली चलचित्रका साथै आधा दर्जन बढी भोजपुरी चलचित्रमा समेत काम गरेको अनुभव बटुलेका छन् । 

 लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा बटुलेको अनुभवकै कारण उनले आफ्नै लगानीमा पहिलो पटक नेपाली चलचित्र ‘पाप’ निमार्ण गरे । चलचित्र ‘पाप’बाट उनले ‘लाभ’ लिन नसके पनि हरेस खाएनन् । चलचित्र ‘पाप’ले नेपाली बक्स अफिसमा औसत व्यापार गरेको दाबी गरे । उनले भने– ‘चलचित्र ‘पाप’बाट मैले आर्थिक ‘लाभ’ त पाइनँ त्योभन्दा बढी ‘सुझाव’ पाएँ । ज्ञान–अनुभव बटुले । चलचित्र कसरी घाटामा जान्छ त्यो विषयमा मैले राम्रोसँग बुझेँ । यो नै मेरा लागि सबैभन्दा ठूलो ‘पाप’को लाभ हो ।’ 

 ‘दर्शकको चाहना, समयको माग, प्रविधिको भरपूर प्रयोगका साथै कथावस्तु र कलाकारको अभिनय नै चलचित्र सफल हुने प्रमुख आधार हुन् । यो सबैको सम्मिश्रण हुँदा हुँदै पनि कहिले हण्डर खानुपर्छ ।’ यो उनले राम्ररी बुझेका छन् । चलचित्र ‘पाप’बाट उनले भोग्नु परेको तीतो यथार्थ यही हो । 

‘त्यसो त समय र प्रकृति सबैभन्दा बलवान छन् । यो सबैलाई पत्तो भएको विषय हो ।’ प्रसंग यसकारण जोडेँ– कृष्ण भन्छन्ः ‘जब मैले पाप निर्माणको सम्पूर्ण काम सकेर दर्शकमाझ ल्याउनको लागि रिलिज डेट फिक्स गरिसकेको थिएँ । यही बीचमा २०७२ सालको विनाशकारी भूकम्प गयो । भूकम्पले नेपाली चलचित्र क्षेत्र तहस–नसह नै भयो । जनधनको क्षति, ऐतिहासिक तथा भौतिक संरचना ध्वस्त भएको विषय सबैलाई थाहा छ । भूकम्पले भयभित बनाएको अवस्थामा परकम्प जाँदा पनि कति त्रासदीपूर्ण अवस्था सिर्जना हुन्थ्यो सबैले भोगेकै हौं । यो बीचमा कोही कसैले चलचित्र चलाउने चेष्टा गरेनन् । विस्तारै परकम्प कम हुँदै गए पनि भूकम्पको भयले मानिसहरुलाई मनोपरामर्श दिनुपर्नेसम्मको अवस्था थियो । 

यो अवस्थामा मानिसहरुलाई डर–त्रासबाट पर राख्दै थोरै भए पनि मुहारमा मुस्कान दिलाउने हेतुले मैले चलचित्र चलाउने आँट गरेँ । यसमा म गर्व गर्छु । यस्तो अवस्थामा चलचित्र चलाउँदा फाइदा खोज्नु मुर्खता हो मलाई पहिल्यै थाहा थियो । तर पनि मेरो दिमागमा दुई वटा कुरा सधैँ खेलिरहेँ– पहिलोः मनोपरामर्श दिनुपर्ने अवस्थासम्म पुगेकाहरुको मुहारमा मुस्कान ल्याउनु र दोस्रोः लामोसमयसम्म बन्द रहेका हलहरुमा जसरी पनि चलचित्र चलाउनु । सोही बमोजिम अघि बढेँ । व्यापार खासै भएन ।  मैले हिम्मत हारेको छैन, चाँडै अर्को चलचित्र ल्याएर दर्शकमाझ आउनेछु । '

 उनले नयाँ चलचित्रको विषयमा धेरै नखुलाए पनि चलचित्र निर्माणका लागि आन्तरिक गृहकार्य भइरहेको बताए । चलचित्रको कथावस्तु लेखनको काम भइरहेको र चाँडै कलाकारहरु पनि फाइनल हुने बताए । उनले नयाँ बनाउने चलचित्रमा अहिलेको ट्रेण्ड भन्दा पक्कै पृथक हुने बताए । 

वाल्मीकि क्याम्पसबाट स्नातकोत्तर गरेका कोइरालाले रंग बैजनी, भूलभूलैया, च्याम्पियन, पाप, जय पर्शुराम, सुब्बा साप, लेक साइड लगायत दर्जनौं चलचित्रमा काम गरिसकेका छन् । यी चलचित्रहरुमध्ये केहीलाई दर्शकले साथ दिए भने केहीले औसत व्यापार गरे । विभिन्न अवार्डहरु हात पारिसकेका उनी राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डमा चलचित्र च्याम्पियन–२०७२ र जयपर्शुराम–२०७३ बाट सर्वश्रेष्ठ निर्माण नियन्त्रक विधामा उत्कृष्ट पाँचको नोमिनेसनमा समेत परेका थिए ।

Post a Comment

0 Comments