Ticker

6/recent/ticker-posts

नेपालको छनोट हुने झिनो आशा बाँकी

काठमाडौं, १ साउन ।  एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को पहिलो खेलमा कमजोर सुरुवात गर्यो। शनिबारको खेलमा नेपाली टोलीले घरेलु टोलीसँग ५–०को फराकीलो पराजय भोगेको थियो। यस हारले नेपाली टोलीको अन्तिम चरणमा छनोट हुने सम्भावनालाई पनि लगभग अन्त्य गराएको छ।

समूहकै अर्को खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ले पराजित गरेपछि नेपाल सनूहको पुछारमा रहने निश्चित भएको हो। नेपाललाई पराजित गरेको युएई अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने उज्वेकिस्तान दोश्रो स्थानमा रहेको छ। लेबनान पनि नेपालझैं अंकविहिन छ र गोल अन्तरका आधारमा नेपालभन्दा माथि तेश्रो स्थानमा छ।

प्रतियोगिताको नियमावली अनुसार समूह चरणका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन्। यदि अन्तिम चरणको आयोजक चिन स्वतः छनोट भएमा छैटौं उत्कृष्ट टोली पनि अगाडी बढ्नेछ। प्रतियोगितामा सहभागी ४० देशलाई १० समूहमा विभाजन गरिएको छ।

नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठुलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ। ५–०को हारसँगै नेपालको अंक र गोलअन्तर दुवैमा ठुलो सुधार आवश्यक रहेको छ। नेपाललो समूह चरणको अन्य खेलमा सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्दैछ।

गर्मी बाधक बन्योः प्रशिक्षक
एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल पहिलो खेलमा आयोजक युएईसंग ५–०ले पराजित भयो। खेलमा पराजय भोगेपछि टोलिका प्रशिक्षक राजु काजी शाक्यले भने गर्मीका कारण खेल्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् । 

खेलपछि पत्रकारसँग बोल्दै प्रशिक्षक शाक्यले पहिलो खेल भएकाले नेपालको खेल खासै नराम्रो नभएको बताए। ‘पहिलो खेल भएकाले खेलाडीहरुले धेरै नराम्रो खेले भन्न मिल्दैन। युएई निकै राम्रो टोली हो र यस्तो टोलीको विरुद्धमा हामीले २ गल्ति गरेर पेनाल्टी दियौं। हाम्रो खेलाडीहरुले युएईलाई बुझ्न सकेनन।‘

‘घरेलु टोली भएकाले उनीहरुलाई गर्मीको पनि बानी पारेको छ। हामी नेपालमा वर्षातको मौसममा खेलिरहने बानि भएकाले गर्मीमा खेल्न गाह्रो भएको हो। युएई शारीरिक रुपमा एकदम बलियो छ र हाम्रो टोलीले उनीहरुलाई रोक्न सकेन।’ पहिलो खेलमा फराकिलो हार व्येहोरेको नेपालको अझैपनि छनोट हुने झिनो सम्भावना कायम छ। टोलीले सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्नेछ।

उज्वेकिस्तानले लेबनानलाई हरायो
यसैबीच, च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ले पराजित गरेको छ। यस जितसँगै उज्वेकिस्तान महत्त्वपूर्ण ३ अंक जोड्दै अंक तालिकाको दोश्रो स्थानमा पुगेको छ।

Post a Comment

0 Comments