काठमाडौं, १७ साउन । लाजिम्पाटस्थित सडक किनारमा हिँडिरहेका एक पैदलयात्री बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका छन् । मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला करेन्ट लागेर रामेछापको बेथान-३ घर भएका २९ वर्षीय राजु लामा घाइते भएका हुन् ।
उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ । सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको स्थानीयले बताएका छन् ।
काठमाडौंका सडक किनारका पोलहरुमा जथाभावि टाँगिएका तारमा सट हुने र आगो लाग्ने घटनाहरु सामान्य जस्तै भएका छन् । तर, सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । केही दिन अघि नयाँबानेश्वर, अनामनगर लगायतका क्षेत्रमा पनि पोलहरुमा करेन्ट सट भएर आगो लागेको थियो ।
0 Comments