Ticker

6/recent/ticker-posts

‘हनी ट्रयाप’का नाइके सीआइबीद्वारा पक्राउ

काठमाडौं, १७ साउन । महिलालाई प्रयोग गरेर व्यापारीको अपहरण गर्ने र फिरौती असुल्ने समूहका नाइके पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले नुवाकोट घर भई भद्रकाली बस्ने शुक्रराज तामाङलाई पक्राउ गरेको हो । ३४ वर्षीय तामाङलाई बाँसबारीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

तामाङले आफ्ना अन्य सहयोगीका साथमा विभिन्न व्यक्तिहरुलाई सुन्दर युवतीमार्फत ‘हनी ट्रयाप’ बनाई नियन्त्रणमा लिई अपहरण तथा शरीर बन्धक बनाई यातना तथा फिरौती लिँदै आएको प्रहरीले जनाएको छ । गिरोहको सदस्यमध्ये काठमाडौ महानगरपालिका–९ बत्तीसपुतलीबाट कुविन भन्ने कोलबहादुर थापा मगर तथा शरू के.सी भन्ने आसिका परियारलाई असार २ गते पक्राउ गरेको थियो । सोही मुद्दाका मुख्य प्रतिवादीहरू कुमानन्द भन्ने कोमानन्द खड्का र नविन कुमार राई अपहरण तथा शरीर बन्धक मुद्दामा हाल पुर्पक्षको लागि नख्खु कारागारमा थुनामा रहेको प्रहरीले बताएको छ । मुख्य नाइके तामाङमाथि अपरहण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

शुक्रराजको समूहले गत पुस ७ गते युवतीलाई प्रयोग गरेर एक ब्यापारीलाई अपहरण गरेर फिरौती असुलेका थिए । यो गिरोहले सरु केसी भन्ने आशिका परियारलाई प्रयोग गरेर ब्यापारीलाई माछापोखरीस्थित भ्यू नेपाल गेष्ट हाउसमा बोलाएर सीआईबीबाट आएको भन्दै नक्कली परिचय दिँदै फिरौती असुल गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले प्रहरीले जस्तै पेस्तोल बोक्ने र नक्कली हतकडीको प्रयोग गरेको पनि देखिएको छ । 

प्रहरीका अनुसार शुक्रराज मुख्य योजनाकार हुन् । अपराधिक घटनाको योजना बनाउने उनी अपहरण गर्ने क्रममा सीआईबीको नक्कली डीएसपीको भूमिका निभाउँदै आएको अनुसन्धानबाट खुलेको छ । सीआईबीकी प्रवक्ता मीरा चौधरीका अनुसार यो समूह विभिन्न अपराधिक घटनामा संलग्न देखिएको छ । शुक्रराज २०५९ जेठमा भएको विकास महर्जनको हत्यामा दोषी ठहर भई २० वर्ष जेल सजाय पाएका थिए । जेल सजाय भुक्तान गरेर ०६९ जेठ १५ गते छुटेका उनी फेरि आपराधिक गतिविमै संलग्न हुँदै आएका थिए । 

Post a Comment

0 Comments