Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


– वसन्तप्रकाश उपाध्याय
‘मित्रता– दिवस’मा उच्चतम परिणाम हात पारे– रेणु र पार्वतीले । महिला– मेयर उपमेयरको महत्व पछि पत्तो होला । तर, सशस्त्र युद्धको भार बिसाउँदा भन्दा ठूलो खुशी मिलेको हुनुपर्छ– प्रचण्ड परिवारलाई । चितवनका ‘छविलाल’को मात्र होइन सानेपा गठबन्धनको पनि ‘छवि’ उजेलियो ।

धेरै लखेटिएको मान्छेको अवस्था कस्तो हुन्छ ? त्यो रेणुले मात्रै होइन, हामीले पनि भोगेका छौं । धेरै लखेटिएको बिरालोसँग प्रत्याक्रमणको विकल्प हुँदैन रे ! मान्छे जब धेरै लखेटिन्छ– कि ऊ कुमान्छे हुन्छ,  नभए कि ऊ सँग असल मान्छे बन्नु बाहेकको बाटो हुँदैन । समाज र संस्कृतिमा ‘इमानी’ मान्छेका नाममा धेरै कुरा हुन्छन् । तर बदलिंदो परिवेशले कतिपय मान्छेलाई बेइमानी गर्ने ठाउँ नपाएर पनि ‘इमानी’ तुल्याइरहेछ ।

हिजो धेरै इमान्दार मान्छेहरु सडकमा निस्केछन् । विधि–विधान र विन्यासले सडकमा निस्कनै नमिल्ने ‘श्रीमान्’हरु पनि देखिए । यहाँनेर समस्या छ बोल्न । ‘अति’ भए ‘खति’ हुन नदिन मान्छेहरु जाग्नु त ठिकै छ । तर न्यायिक तराजु समात्ने हातहरुले ‘प्लेकार्ड’ बोकेपछि कालोकोटमा दाग देखिदैन भन्नु बेकार छ । कुर्ची छोडेर बेकार भएपछि कैयौं मान्छेहरु इमान्दार, न्यायिक र सरल एवं साद्गी भएका कैयौं उदाहरण छन् ।

हाम्रो ‘विडम्वना’ हो, हामी दाँतले मासु, छाला र हड्डी टोक्न नसकेर थोते बनेपछि शाकाहारी बन्छौं । चुस्नु चुस्छौं– स्वार्थको उखु–मुरली । जब शरीरले जन्माउँदैन प्राप्तिको ‘इन्सुलिन’ तब ‘सुगर–फ्री’ शालिनता प्रदर्शन गर्छौं । सयौं ‘चूहा’ खाएर ‘हज’ जाने बिल्ली प्रवृत्तिमा ‘राधे–राधे’ गर्ने सयौं छन् । मालपुवा–चन्दन लुटेर ‘ॐ नमः शिवाय !’ जप्ने हजारौं लाखौं छन् ।

दशकौं अघि एकदिनको कुरो हो– म र मेरा एकसाथी ‘मेहफिल’ रेष्टुरेण्टमा अर्पणा भट्टाचार्यको गीत–गजल सुन्दै थियौं । दर्जनौं युवायुवतीहरु खानापिनाको ‘इन्तजाम’मा जुटेका थिए । एकाएक मेरा साथी ती दृश्यहरु हेर्दाहेर्दै रुन थाले । उनको रुवाइलाई धेरैले ज्यादा रक्सी लागेको टिप्पणी गरे । कारण बुझ्न म पनि आतुर थिएँ र सोधेँ ः ‘किन रोएको हरि ! तँ यस्सरी ?’

ऊ धेरैबेर बोलेन । पछि उसले विस्तारै जुन कारण बतायो । म अवाक् बने । हरिका तीन छोरी थिए । रेष्टुरेण्टको जुन माहौल र अवस्था थियो । त्यो देख्दा उसले आफ्ना छोरीहरु ठूलो भएपछि यही अवस्थामा पुगे भने के गर्ने ? त्यो कल्पेको रहेछ ।

जीवन–भोगाइको कटु सत्य यही हो । मान्छेले जब ‘आगो’ छुन पुग्छ– तब मात्र ‘आथ्थु’को अनुभूत गर्छ । सिट नपाएर उभिएका यात्रुलाई मात्रै गन्तव्य– खोजको पीडा थाहा हुन्छ । न्याय–अन्याय यसको परिभाषमा कानूनले कसैले ‘अन्याय’ गर्दैन । तर जब परिणाम आफ्नो अनुकूल हुन्छ तब मात्रै उसले ‘कानून’ देख्छ । भनसुनमा ‘तारेख’ हात पार्नेलाई ‘अनशन’को महत्वबोध हुँदैन ।

हो, यो त्यही रामशाहपथ हो– कहिले त्यहाँ ‘जिन्दावाद !’ गुञ्जन्छ । शायद अब फेरि ‘मूर्दावाद !’ सुनिएला । हेर्नु हो– हामीले जस्तै पृथ्वीनारायणको शालिकले पनि पश्चिम फर्केर हेरिरहेकै छन्– चन्द्रागिरिको डाँडोलाई । जहाँबाट भूगोल त एकीकरण भयो– हाम्रो मन चाहिँ कहिल्यै ‘एकीकृत’ भएन ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply