पुरुषको ‘टेस्टोसटेरम’ हर्माेन पनि परीक्षण गरिने
बलराम प्यासी
ललितपुर, ४ भदाै । महिनावारी रोकिएका (रजनोवृत्त भएका) या विभिन्न कारणले पाठेघर झिकेर फ्याँकेका महिलाहरुको लागि नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलले हरेक शनिबार नियमितरुपमा निःशुल्क स्वास्थ्य जाँच सेवा शुरु गरेको छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञहरुद्धारा हरेक शनिबार विहान १० देखि १२ सम्म निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिनेगरि ‘निःशुल्क मेसोन क्लिनिक’ नेपालमै पहिलोपटक शुरु गरेको अस्पतालले दावी गरेको छ ।
महिनावारी रोकिएपछि महिलालाई उच्च रक्तचाप, मुटु, क्यान्सरलगायत विभिन्न रोग लाग्नसक्ने संभावना भएकोले ती रोगबाट समयमै महिलाहरुलाई जागाउने उद्धेश्यले अस्पतालले महिलाहरुको लागि निःशुल्करुपमा सो सेवा शुरु गरेको हो ।
नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको पहलमा वरिष्ठ क्यान्सर विशेषज्ञ तथा ‘मेनोपौज सोसाइटी अफ नेपाल’ (मेसोन) को सहयोगमा शनिबारदेखि सो सेवा शुरु गरेको हो । मेसनकी निर्वाचित अध्यक्ष एवम वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.सुशीला श्रेष्ठ, डा.अचला वैद्यसहितको विशेषज्ञ टोलीले शनिबारदेखि सो सेवा शुरु गरेको हो ।
महिला अधिकारकर्मी एवम् सञ्चारकर्मी बन्दना राणाले सो सेवाको उद्घाटन गर्दै यस्तो सेवा नेपालमा मात्र नभई संसारकै पहिलो हुनसक्ने दावी गरीन । संयुक्त राष्ट्रसंघीय महिला नियोग युएन ओमेनकी संयोजक समेत रहेकी राणाले यसअघि यस्तोखालको सेवाको बारेमा युएनमा हालसम्म जानकारी नआएकोले यो नै पहिलो हुनसक्ने दावी गरीन । कार्यक्रममा राणाले मेसनद्धारा प्रकाशित ‘मेसोन उपचार गाइडलाइन’को विमोचन पनि गरीन् ।
अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाले केमोथेरापी उपचार गराईराखेका महिलामा विभिन्न समस्या आउने हुनाले उनीहरुका लागि यो सेवा प्रभावकारी हुने बताए । त्यसो त ६० वर्ष कटेका पुरुषहरुमा पनि ‘टेस्टोसटेरम’ नामक हर्माेनका कमीका कारण विभिन्न रोग लाग्ने भएकोले उनीहरुले पनि सो क्लिनिकबाट निःशुल्क सेवा लिनसक्ने डा.पियाले बताए ।
विशेष गरी महिनावारी रोकिएका ४० देखि माथिका उमेरका महिला हुन् या विभिन्न कारणले पाठेघर झिकेर फयाँकेका जुनसुकै उमेरका विवाहित महिला हुन् उनीहरुको स्वास्थ्य सम्वन्धी अनगिन्ती गुनासोलाई मध्यनजर गर्दै स्त्रीरोग विशेषज्ञहरुको सहकार्यमा अस्पतालमा निःशुल्क सेवा शुरु गरेको अस्पतालका कार्यकारी अध्यक्ष डा.पियाले बताए ।
डा.पियाका अनुसार हरेक हप्ता विहान १० देखि १२ बजेसम्म सो अस्पतालमा त्यस्ता महिलाहरुलाई निःशुल्क सेवा दिनुको साथै त्यससंग सम्वन्धि प्रयोगशाला सेवा र आवश्यक पर्ने औषधि छुटमा विक्रीवितरण गरिने छ ।
कार्यक्रममा प्रवन्ध निर्देशक श्यामकृष्ण जोशीले निःशुल्क सेवाको बारेमा जानकारी दिएका थिए भने मेसोनकी अध्यक्ष डा.सुशीला श्रेष्ठले मेसोनले महिलाको स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामका बारेमा प्रकाश पारेकी थिइन ।
No comments: