भक्तपुर, भदाै । पुर्व शिक्षामन्त्री डा.गंगालाल तुलाधरले नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट जिल्लाका पत्रकार, प्रधानाध्यापक,शिक्षा तथा समाजसेवीहरुलाई आइतबार सम्मान गरे । उनीलगायत संघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले दोसल्ला ओढाएर, माला लगाई ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
सम्मानित हुने पत्रकारहरुमा प्रक्षपण दैनिक एवम् नपालन्यूजका कार्यकारी सम्पादक राजधानी दैनिकका वरिष्ठ समाचारदाता बलराम प्यासी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष एवं नेपाल समाचारपत्र तथा रेडियो नेपालका समाचारदाता पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष, राष्ट्रिय समाचार समितिका सहायक सम्पादक रमेश गिरी, नेपाल टेलिभिजनका सम्वाददाता तथा समय समाज साप्ताहिकका सम्पादक सोम शर्मा बजगाई, ईमेज टेलिभिजनका सम्वाददाता जयराम बास्तोला, रातोपाटी अनलाइनका सम्वाददाता हेमराज ढकाल, कान्तिपुर दैनिकका सम्वाददाता लीला श्रेष्ठ, जनता टेलिभिजनका सम्वाददाता नारायण थापा रहेका छन् ।
त्यसैगरी महेन्द्र शान्ति मावि बालकोटका प्रधानाध्यापक गोपाल विक्रम थापा, पुर्व प्रधानाध्यापक तारामान जोशी, ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोदकुमार कोइराला, युरो किड्सकी प्रिन्सिपल विनु गोदार थापालगायत शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षासेवी, विद्यालयका प्रिन्सिपल, शिक्षक, नगरप्रमुख, उपप्रमुख लगायत ३५ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व शिक्षामन्त्री डा.तुलाधरले अस्थायी शिक्षकको सहज र न्यायपूर्ण व्यबस्थापन आवश्यक रहेको उल्लेख गर्दै अस्थायी शिक्षकले नयाँ शिराबाट आन्दोलन सुरु गर्नुपर्ने पनि बताए । हरेक वर्ष करीव ३ हजार शिक्षक सवा निवृत्त भईरहेको उल्लेख गर्दै शिक्षक सवा आयोगबाट खाली रहेका शिक्षकहरुको पदपूर्ति गरी वेराजगारी समस्या समाधान गर्न सकिने उनले बताए ।
सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएकोमा दुःख व्यक्त गर्दै उनले सामुदायीक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्ने र सार्वजनिक कार्यक्रममा आएर गुणस्तरीय शिक्षा भएन भनेर भाषण गर्नु लज्जास्पद भएको टिप्पणी गरे ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष बाबुराम थापा, संगठनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय महासचिव नवराज काफ्ल लगायतले देशमा प्राबिधिक शिक्षाको आवश्यकता औल्याउँदै त्यसतर्फ सरकार केन्द्रीत हुनुपर्ने बताए ।
0 Comments