Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, असोज । मुटुको उपचारमा संलग्न वरिष्ठ शल्यचिकित्सकले हालसम्म मुटुको शल्यक्रिया ९८ प्रतिशत सफल भएको दावी गर्दै मुटुको शल्यक्रिया गर्दा कोही पनि विरामी आत्तिनु नपर्ने बताएका छन् ।
विश्व मुटु दिवस २०१७ को अवसरमा शनिबार नर्भिक अस्पतालमा आयोजित कार्यक्रममा वरिष्ठ मुटु शल्यचिकित्सक डा.ज्योतिन्द्र शर्माले मुटुको शल्यक्रिया हुने भयो भन्दैमा कुनैपनि मुटुरोगीले आत्तिनु नपर्ने बताए । 

मुटुको शल्यक्रियामा संलग्न सबै नेपाली शल्यचिकित्सकले समयसापेक्ष तालीम लिएर आफुलाई निखार्दै लगेको दावी गर्दै उनले भने ‘मुटुको शल्यक्रिया सुरक्षित छ, ढुक्क हुनुस, विरामीमा अन्य रोगको जटिलता छैन भने उसले मुटुको शल्यक्रिया गर्दा पटक्कै आत्तिनुपर्दैन ।’

नर्भिक इन्टरनेशनल अस्पतालको संयोजन एवम् मुटुसम्वन्धी काम गर्दै आएका विभिन्न १९ वटा गैरसरकारी संस्थाहरुको साझा संस्था ‘नेपाल हार्ट नेट’ले सो अस्पतालमा आयोजना गरेको कार्यक्रममा डा.शर्माले कुनैपनि शल्यक्रिया गर्ने भन्नेवित्तिक्कै विरामीहरु पहिल्यै तसिर्ने गरेको बताए ।

मुटुको शल्यक्रिया गर्ने शल्यचिकित्सकहरु नेपालमा हाल १५ जनाको हाराहारीमा रहेको उल्लेख गर्दै ती सबै शल्यचिकित्सक आफ्नो काममा निपुण भएको पनि दावी गरे । डा.शर्मा सहिद गंगालाल हृदय केन्द्रको साथै नर्भिक अस्पतालको मुटुरोग विभागका वरिष्ठ मुटु शल्यचिकित्सक हुन । 

मुटु प्रत्यारोपणको काममा बाहेक मुटुसम्वन्धी प्रायःसबै शल्यक्रियामा नेपाली शल्यचिकित्सक पोख्त रहेको डा.शर्माको दावी थियो । नर्भिक अस्पतालको मुटुरोग विभागका प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.यादवदेव भट्टले नर्भिक अस्पतालमा मुटुको उपचार सेवा शुरु गरेको २४ वर्षमा धेरैले पुर्नजीवन पाएको उल्लेख गर्दै नर्भिक अस्पताल मुटुसम्वन्धी सबै रोगको उपचार गर्न सक्षम रहेको बताए । 

सोही अस्पतालका मुटुरोग विशेषज्ञ डा.जेपी जयसवालले विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिस मुटुरोगबाट मर्ने गरेको उल्लेख गर्दै समयमै उपचार हुनसके ८० प्रतिशत मुटुरोगीलाई बचाउन सकिने दावी गरे । खानपानमा ध्यान दिन सके या स्वस्थ जीवनशैली अपनाउन सके सकभर मुटुसम्वन्धी रोग नै नलाग्ने उनको भनाई थियो ।

नेपाल हार्ट फाउण्डेशनका पुर्व अध्यक्ष डा.प्रकाशराज रेग्मीले आफ्नो वंशानुगत रोगको इतिहास र आफ्नो शरीरको पाचन प्रणालीको क्षमता अनुसार सीमितमात्रामा सबै खानेकुरा खान सकिने बताउँदै जे कुरा पनि धेरै खायो भने त्यसले रोग निम्त्याउने बताए । ‘रक्सी, चुरोट र सुर्ती नखाने र पटक्कै तनाव नलिने मानिसलाई हृदयाघातको खतरा छैन’, उनले भने । 

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.डिवि कार्कीले मुटुको उपचारमा नयाँनयाँ प्रविधिको विकास भएको चर्चा गर्दै सो को अनुपातमा मुटुरोगीहरु बढीरहेको बताए । अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अवनिभुषण उपाध्यायले धु्रमपान र मध्यपानबाट मुटुरोग लाग्ने गरेको उल्लेख गर्दै मुटुरोग जुनसुकै उमेरका मानिसलाई लाग्नसक्ने बताए । नेपाल जस्तो विकासोन्मुख देशमा मुटुको औषधि महंगो र उपचार कठीन छ, त्यसैले यसको उपचारमा भन्दा रोग नै लाग्न नदिनेतर्फ सजगता अपाउनुपर्छ, डा.उपाध्यायले भने । 

कार्यक्रममा मुटरोगीको तर्फबाट पोखराका ध्रुवराज बराल तथा नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरी शाक्यले बोलेका थिए । 

त्यस अवसरमा ‘नेपाल हार्ट नेट पुरस्कार २०१७’ नेपाल हार्ट फाउण्डेशनलाई प्रदान गरियो भने नर्भिक अस्पतालको मुटुरोग विभागमा कार्यरत मुटुरोग विशेषज्ञहरु डा.शेखर राजण्डारी, डा.नगमा श्रेष्ठ, डा. शिवजी सिलवाल, डा.सन्तोष श्रेष्ठ, डा.केशव बुढाथोकी, डा.शैलेन्द्र कुशवाहका साथै एकदर्जन नर्सलाई पनि प्रशंसापत्र दिइयो । यसैगरी १० जना जेष्ठ मुटुरोगीलाई ‘दीर्घजीवन सम्मान’द्धारा सम्मानित गरियो । 

अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरी शाक्यले अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा सुनिल चन्दै झालाई सम्मान गर्नुको साथै वरिष्ठ मुटुरोग विशेषज्ञद्धय प्रा.डिबि कार्की र डा.अवनिभुषण उपाध्यायलाई अस्पतालको तर्फबाट उपहार दिएकी थिइन । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply