काठमाडौं, २७ भदौ । दशैंमा काठमाडौंबाट बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ मंगलबार विहानैबाट खुला भएको छ । टिकट बुकिङका लागि सर्वसाधारण रातिदेखि नै नयाँ बसपार्क पुगेर लाइनमा बसेका थिए । उनीहरुलाई बिहान ६ बजेपछि मात्रै टिकट वितरण शुरु गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका हुन् ।
सामानबाहेक यात्रु र खसीबोका छतमा राखेको पाइए कडा कारवाही गर्ने प्रहरीले जनाएको छ । यता यातायात व्यवस्था विभागले तोकिएको भाडादरभन्दा बढी नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ ।
सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले यस्तो संयन्त्र तयार गरेको हो । यता ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, यात्रुसँग दलाली गर्ने सवारीसाधन तथा टिकट काउण्टरको निगरानी अगाडि बढाएको छ ।
0 Comments