काठमाडौं, ८ कात्तिक । राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका केही अधिकारीले पदको दुरुपयोग गर्दै लाखौं रुपैयाँ आर्थिक अनियमितता गरेको उजुरीपछि राष्ट्रिय सतर्कता केन्द्रले एउटा टोली बनाएर आइतबारदेखि त्यहाँ छानवीन शुरु गरेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव विष्णुराज लामिछानेका अनुसार सतर्कता केन्द्रका अधिकृत लक्ष्मी थापा बस्नेतको संयोजकत्वमा कृष्णप्रसाद सुवाल र भवानी खकुरेल सहितको टोलीमार्फत क्षयरोग केन्द्रमा भएको आर्थिक अनियमितताबारे आइतबारदेखि छानवीन शुरु गरेको हो ।

आर्थिक अनियमिततामा संलग्न रहेको उजुरी परेपछि अनुसन्धान टोलीले क्षयरोग केन्द्रका लेखाशाखाका उपसचिव नारायणप्रसाद दाहाल, खरीद (प्रोक्योरमेण्ट) शाखाका उपसचिव अनिल थापा, प्रशासन शाखाकी अधिकृत रिता खतिवडा र स्टोर किपर नेत्र कटुवाल समेतलाई सोधपुछ शुरु गरेको सर्तकर्ता केन्द्रले जनाएको छ ।
हरेक १०÷१० वर्षमा गरिने क्षयरोग प्रिभिलेन्स सर्भेको लागि भन्दै केन्द्रले ६५ हजार थान टिसर्ट खरीद गरेको बील देखाएर २५ हजार थानमात्रै स्टोर दाखिला गरी ४० हजार थानको नक्कली बील बनाएर लाखौं रुपैयाँ भ«ष्टाचार गरेको, सोही सर्भेको लागि भनेर ४१ सीटे २ गाडी, जीप तथा केही थान मोटरसाइकल खरीद गर्ने क्रममा पनि लाखौं रुपैयाँ भ«ष्टाचार गरेको, एक्सरे मेशीन खरीदमा पनि आर्थिक हिनामिना गरेको सूचना सतर्कता केन्द्रमा परेपछि अनुसन्धान शुरु गरिएको सर्तकता केन्द्रका सहसचिव लामिछानेले बताए ।
त्यतिमात्रै नभई केन्द्रका वर्तमान निर्देशक डा.केसी, निवर्तमान निर्देशक विकास लामिछाने र शरच्चन्द्र वर्माले प्रशासन शाखाकी अधिकृत रिता खतिवडा, लेखाका उपसचिव नारायण दाहाल र खरीदका उपसचिव अनिल थापा मिलेर क्षयरोग केन्द्रमै तीनवटा सुविधासम्पन्न सभाहल हुँदाहुँदै आफु र आफ्ना सर्मथक कर्मचारीलाई आर्थिक लाभ हुनेगरि धुलिखेलका महंगा होटेलमा पटकपटक क्षयरोग सम्वन्धी गोष्ठी र सेमिनार आयोजना गर्दै आर्थिक लाभ लिएको जस्ता उजुरी परेको छ ।
साथै क्षयरोग केन्द्रका सीमित कर्मचारीलाई पटकपटक र दशैं तिहारको विदामा समेत सरकारी गाडीको दुरुपयोग गर्दै भ्रमण आदेश दिएर आर्थिक अनियमितता गरेको जस्ता उजुरीको आधारमा सतकर्ता केन्द्रले छानवीन शुरु गरेको हो ।
क्षयरोग केन्द्रको आर्थिक अनियमिततामा संलग्न भएको उजुरीमा सतर्कता केन्द्रले नर्वेजियन हार्ट एण्ड लंग्स एशोसियसन एलएचएलका कर्मचारी गाकुल मिश्र र सेभ द चिल्ड्रेनका प्रमुख राजेन्द्र बस्नेत तथा लेखा अधिकृत रत्न भट्टराई, क्षयरोग केन्द्रकी अनमि कमला वाग्ले र हरि कुँवरमाथि पनि अनुसन्धान गर्ने सर्तकता केन्द्रले जनाएको छ ।
मुलुकबाट क्षयरोग रोकथाम तथा नियन्त्रणको लागि भनेर चालु आर्थिक वर्षमा नेपाल सरकार र ग्लोबल फण्डबाट गरी करीव ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर बजेटमा उल्लेख भएका अधिकाँश रकम सीमित अधिकारी र कर्मचारीको मिलोमतोमा अनावश्यक खरीद, मर्मत तथा सम्भार र दैनिक भ्रमण भत्तामा मात्रै सक्ने गरेको बारेमा सतर्कता केन्द्रले छानवीन शुरु गरेको हो ।
आपुर्तिकर्तासंगको मिलोमतोमा नक्कली बिल बनाएर सीमित अधिकारीहरुले क्षयरोग केन्द्रको बजेट सक्ने गरेको पटकपटक उजुरी पर्दै आएको छ ।
0 Comments