Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, कार्तिक । पहिलो र दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै दलहरुले चुनाव प्रचार प्रसारलाई अगाडि बढाई सकेका छन् । आफ्नो जित हारमा स्थानीय तहको चुनावी अंकगणित हुन सक्ने भन्दै उम्मेदवारहरुले त्यहाँ चासो राखेका छन् । धेरै मत ल्याएकाले स्थानीय तहको मत सुरक्षामा चासो दिएका छन् भने कम मत पाउने पार्टीले अर्कोपक्षबाट मत तान्ने रणनीति बनाईरहेका छन् ।
हामीले प्रदेश नं. ७ का ९ जिल्लाका १५ निर्वाचन क्षेत्रमा स्थानीय तहमा दलले पाएको मतको आधारमा उनीहरुको अवस्था जान्ने प्रयास गरेका छौँ । अघिल्लो निर्वाचनको आधारमा कैलाली १ मा बामगठबन्धन भन्दा नेपाली कांग्रेस अगाडि देखिएको छ भने बाँकी १४ क्षेत्रमा बामगठबन्धन अगाडि देखिएको छ ।
कैलाली २ मा कांग्रेस बामगठबन्धन भन्दा २ हजार मत हाराहारीले पछाडि रहेको छ । यो क्षेत्रमा कांग्रेसले साना दलसँग तालमेल गर्ने हो बामगठबन्धनलाई ठूलो चुनौति बन्न सक्छ ।

अन्य निर्वाचन क्षेत्रहरुमा बामगठबन्धन फराकिलो मतले अगाडि देखिएको छ । यसआधारमा प्रदेश ७ मा बामगठबन्धन कम्तिमा १३ क्षेत्रमा अगाडि आउने सम्भावना छ ।
१) बाजुरा
यहाँ प्रतिनीधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ ।  

बाजुरामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाजुरामा ५ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसबाट प्रतिनिधिसभा तर्फ कविराज पण्डित, प्रदेश क्षेत्र नं १ बाट जनकराज गिरी र प्रदेश क्षेत्र नं २ बाट पदमबहादुर शाहीले उम्मेदवारी दिएका छन् । नेकपा एमाले र माओवादीको गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा लालबहादुर थापा, प्रदेश नं १ क्षेत्रमा बलदेव रेग्मी र प्रदेश नं २ क्षेत्रमा प्रकाश शाहले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा दलका प्रमुखले पाएको मतका आधार मान्ने हो भने बाजुरामा नेपाली कांग्रेसले २३ हजार २ सय ३ मत पाएको थियो । यस्तै एमालेले २२ हजार ५ सय ६९ मत पाएको थियो भने माओवादी केन्द्रले ३ हजार ९ सय ५६ मत ल्याएको थियो ।
यो जिल्लामा बाम गठबन्धनको मत जोड्दा २६ हजार ५ सय २५ हुन्छ जुन कांग्रेसले पाएको मत भन्दा ३ हजार ३ सय २२ मत बढी हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता छन् ।

२) अछाम
अछाममा आगामी मंसिर २१ गते प्रतिनिधि सभा निर्वाचन र प्रदेशसभा निर्वाचन हुँदैछ । प्रतिनिधि सभा निर्वाचनका लागि २ क्षेत्र रहेको अछामका दुई निर्वाचन क्षेत्रमा कूल १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् ।


अछाम क्षेत्र नं. १
अछाम क्षेत्र नं. १ मा प्रतिनिधिसभा सभा निर्वाचनका लागि बामगठबन्धनबाट भीम रावल र कांग्रेसबाट भरतकुमार स्वाँरले उम्मेदवारी दिएका छन् । यस्तै बामगठबन्धनबाट प्रदेश क र ख मा गोविन्द बहादुर कुँवर र झपड बोहोरा उठेका छन् भने कांग्रेसबाट क र ख मा मेघराज खड्का र टेक बहादुर साउदले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ मा ६८ हजार ५ सय ९३ मतदाता रहेका छन् ।
अछाम क्षेत्र नं. १ मा गत स्थानीय तहको निर्वाचमा मोटामोटी रुपमा कांग्रेसले १८ हजार २ सय ९७, नेकपा एमालेले १८ हजार २१ र माओवादी केन्द्रले १२ हजार १ सय ७७ मत ल्याएको थियो ।
यसआधारमा यहाँ बाम गठबन्धनको पक्षमा ३० हजार १ सय ९८ मत रहेको छ, जुन कांग्रेसको भन्दा ११ हजार ९ सय १ मत बढी रहेको छ ।


अछाम क्षेत्र नं. २
अछाम क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६८ हजार ३ सय १० मतदाता रहेका छन् । यहाँ बामगठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनका लागि यज्ञ बोगटी र प्रदेशसभा निर्वाचनका लागि अक्कल बहादुर रावल र बलबहादुर रोडारीले उम्मेदवारी दिएका छन् । यस्तै कांग्रेसका तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि पुष्पबहादुर शाह र प्रदेशसभा निर्वाचनका लागि मेघराज खड्का र टेकबहादुर साउदले उम्मेदवारी दिएका छन् ।
अछाम क्षेत्र नं. २ का स्थानीय तहको प्रमुख तथा वडाध्यक्षले पाएको मतको मोटामोटी आधारमा नेपाली कांग्रेसले १८ हजार ८ सय ४०, एमालेले १७ हजार १० र माओवादी केन्द्रले ८ हजार ५ सय ६२ मत पाएको छ । यसआधारमा यहाँ बाम गठबन्धनको पक्षमा २५ हजार ५ सय ७२ मत छ जुन नेपाली कांग्रेसको तुलनामा ६ हजार ७ सय ३२ मत बढी छ ।

३) बझाङ  
बझाँङमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र एमालेका भैरबबहादुर सिंह प्रतिष्पर्धामा छन् । यस्तै प्रदेशसभा निर्वाचनका लागि बामगठबन्धनबाट क्षेत्र नं. क मा एमालेबाट अर्जुन थापा  र ख मा माओवादी केन्द्रबाट देवकी मल्लको उम्मेदवारी परेको छ । यस्तै कांग्रेसबाट क मा चन्द्रदेवी जोशी र ख मा नरेश बहादुर सिंहको उम्मेदवारी परेको छ ।
बझाँङमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख ४ हजार २ सय ७५ मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले २६ हजार १ सय २२ मत ल्याएको थियो । एमालेले २८ हजार ७० मत र माओवादी केन्द्रले १२ हजार ९ सय ३० मत ल्याएको थियो । यहाँ गठबन्धनको ४१ हजार मत छ जुन कांग्रेसले पाएको भन्दा १४ हजार ८ सय ७८ मत बढी हो ।
४) डोटी 
डोटीमा प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका प्रेम आलेमगर र कांग्रेसका पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रर्तिष्पर्धा हँुदैछ ।
डोटीमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले २८ हजार ५ सय ४२ मत पाएको थियो । यस्तै एमालेले २७ हजार ८ सय ८९ मत ल्याएको थियो भने माओवादी केन्द्रले ७ हजार ८ सय ६४ मत ल्याएको थियो । यहाँ बाम गठबन्धनको कूल मत ३५ हजार ७ सय ५३ मत छ जुन कांग्रेसले पाएको मत भन्दा ७ हजार २ सय ११ मत बढी हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको डोटीमा १ लाख ६ हजार  ५ सय ४३ मतदाता छन् ।  

५) कैलाली 
कैलालीमा प्रतिनिधि सभा निर्वाचनका लागि ५ र प्रदेशसभा निर्वाचनका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा कूल ४ लाख ६० हजार ५ सय ८० मतदाता छन् ।

कैलाली क्षेत्र नं. १  
कैलाली क्षेत्र नं. १ मा मंसिर २१ गते हुने दुई निर्वाचनका लागि ९३ हजार ६ सय ७३ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि बामगठबन्धनबाट गरिमा शाह र कांग्रेसबाट इश्वरी न्यौपाने चुनावी प्रतिष्पर्धामा छन् । यस्तै प्रदेशतर्फ बामगठबन्धनबाट क र ख मा लालवीर चौधरी र नेपबहादुर चौधरीले उम्मेदवारी दिएका छन् भने कांग्रेसबाट जनक चौधरी र रणबहादुर रावलले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा मोटामोटी रुपमा कांग्रेसले ११ हजार २ सय ५४, नेकपा एमालले ९ हजार ६ सय ४१, माओवादी केन्द्रले १० हजार २ सय ३१ र फोरम लोकतान्त्रिकले १२ हजार ९९ मत पाएका थिए । यहाँ बाम गठबन्धनको पक्षमा १९ हजार ८ सय ७२ मत छ भने कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ५३ हुन्छ ।  यस आधारमा हेर्दा नेपाली कांग्रेस ३ हजार ८ सय ६१ मतले अगाडि देखिन्छ ।

कैलाली क्षेत्र नं. २  
कैलाली क्षेत्र नं. २ मा ८९ हजार ७ सय ९३ मतदाता रहेका छन् । कैलाली २ मा प्रतिनिधिसभाका लागि बामगठबन्धनबाट एमालेका झपट रावल र कांग्रेसका मोहनसिंह राठौर बिच प्रतिष्पर्धा हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा यहाँ मोटामोटी रुपमा नेपाली कांग्रेसले १४ हजार ५०, एमालेले १४ हजार ४ सय १७, माओवादी केन्द्रले १० हजार ९ सय ३६ र फोरम लोकतान्त्रिकले ८ हजार ३ सय ८५ मत पाएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको २५ हजार ३ सय ५३ मत रहेको भने नेपाली कांग्रेस गठबन्धनको २२ हजार ४ सय ३५ मत रहेको छ । अर्थात यहाँ नेपाली कांग्रेस भन्दा बाम गठबन्धन २ हजार ९ सय १८ मतले अगाडि रहेको छ ।  

कैलाली क्षेत्र नं. ३  
कैलाली क्षेत्र नं. ३ मा आगामी निर्वाचनका लागि ९१ हजार ८ सय ३३ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा बामगठबन्धनबाट माओवादी केन्द्रका गौरी शंकर थारु, कांग्रेसका रामजनम चौधरी र संघीय समाजवादी फोरमबाट गोमती पुजारा चुनावी प्रर्तिष्पर्धामा रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा कैलाली क्षेत्र नं. ३ मा कांग्रेसले १२ हजार ४ सय ६८, नेकपा एमालेले ११ हजार ६ सय, माओवादी केन्द्रले १६ हजार १ सय ९८ र फोरम लोकतान्त्रिकले ७ हजार ३ सय ११ मत ल्याएको थियो ।

यस आधारमा हेर्दा क्षेत्र नं. ३ मा बामगठबन्धनको पक्षमा २७ हजार ७ सय ९८ मत छ  भने कांग्रेस र सो पार्टीमा बिलय भएको फोरम लोकतान्त्रिकको मत जोड्दा १९ हजार ७ सय ७९ हुन्छ । अर्थात यहाँ नेपाली कांग्रेस ८ हजार १९ मतले पछाडि रहेको छ ।

कैलाली क्षेत्र नं. ४  
कैलाली क्षेत्र नं.४ मा आगामी निर्वाचनका लागि ९३ हजार ३ सय ८४ मतदाता छन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा बामगठबन्धनबाट  माओवादी केन्द्रका लेखराज भट्ट, कांग्रेसका सुनिलकुमार भण्डारी र संघीय समाजवादी फोरमका श्रीचन्द्र श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा कैलाली क्षेत्र नं. ४ मा कांग्रेसले १६ हजार २ सय ५, नेकपा एमालेले १८ हजार ६ सय ६४ र माओवादी केन्द्रले १४ हजार ६८ मत पाएको थियो ।

यसआधारमा यहाँ बाम गठबन्धनको ३२ हजार ७ सय ३२ मत छ जुन कांग्रेसले पाएको मत भन्दा १६ हजार ५ सय २७ मत बढी हो ।

कैलाली क्षेत्र नं. ५  
आगामी निर्वाचनका लागि कैलाली क्षेत्र नं. ५ मा ९१ हजार ८ सय २० मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा एमालेका नारदमुनी राना र कांग्रेसकी डा.आरजु राणा देउवाबिच प्रतिष्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले १४ हजार ३ सय २४, नेकपा एमालेले ९ हजार ९ सय ४६, माओवादी केन्द्रले १० हजार २ सय ९ र स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए ।
यसअनुसार यहाँ बाम गठबन्धनको २१ हजार ८ सय ७८ मत छ, जुन नेपाली कांग्रेसले पाएको मत भन्दा ७ हजार ५ सय ५४ मत बढी हो । स्वतन्त्र उम्मेदवारले पाएको मत नै निर्यायक हुने देखिएको छ ।

६) दार्चुला  
दार्चुलामामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसका विक्रमसिंह धामी र एमालेका गणेशसिंह ठगुन्नाबिच प्रर्तिष्पर्धा हुँदैछ ।  
याहाँ स्थानीय तहको निर्वाचनमा मोटामोटी रुपमा कांग्रेसले २१ हजार ७ सय ६८ मत पाएको थियो । यस्तै एमालेले २० हजार ४ सय ४५ मत र माओवादी केन्द्रले १० हजार ५१ मत ल्याएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धनको ३० हजार ४ सय ९६ मत छ जुन नेपाली कांग्रेसको भन्दा ८ हजार ७ सय २८ मत बढी हो ।
दार्चुलामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ७८ हजार ५ सय १२ मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभा निर्वाचनका लागि १ मात्र क्षेत्र रहेको छ ।

७) बैतडी 
बैतडीमा प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसका नरबहादुर चन्द र एमालेका दामोदर भण्डारी चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २७ हजार ६ सय ८० मत ल्याएको थियो । नेकपा एमालेले २५ हजार ६ सय ४१ र माओवादी केन्द्रले १८ हजार १ सय ६६ मत ल्याएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको ४३ हजार ८ सय ७ मत रहेको छ जुन नेपाली कांग्रेसले पाएको मत भन्दा १६ हजार १ सय २७ मत बढी हो । प्रतिनिधिसभा निर्वाचनका  लागि १ मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३ सय १७ मतदाता रहेका छन् ।

८) डडेल्धुरा  
आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा रोचक चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । १ निर्वाचन क्षेत्र रहेको यहाँ कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता खगराज भट्टबीच प्रतिष्पर्धा हुँदैछ ।

स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा कांग्रेसले १९ हजार ५ सय २३ मत ल्याएको थियो । एमालेले १६ हजार ९ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएको थियो । यहाँ गठबन्धन दलको २७ हजार ८ सय ६० मत छ जुन कांग्रेसले ल्याएको मत भन्दा ८ हजार ३ सय ३७ बढी हो । यसआधारमा यहाँ आफ्नो जित निकाल्न काँग्रेस सभापति देउवाले ८ हजार बढी भोट बढाँउनुपर्नेछ ।
प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको डडेल्धुुरामा ८१ हजार ७ सय ३२ मतदाता रहेका छन् ।

९) कञ्चनपुर
कञ्चनपुरमा तिन निर्वाचन क्षेत्र रहेका छन् भने आगामी निर्वाचनका लागि जिल्लामा कूल २ लाख ६४ हजार ९ सय ७५ मतदाता रहेका छन् ।

कञ्चनपुर क्षेत्र नं. १  
कञ्चनपुर क्षेत्र नं. १ मा आगामी निर्वाचनका लागि ८८ हजार ५७ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रबाट माओवादी केन्द्रकी विना मगर र कांग्रेसका दिवानसिंह विष्टवीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट मोटामोटी रुपमा कांग्रेसले १५ हजार ४ सय २२, एमालले १८ हजार २६ र माओवादी केन्द्रले १५ हजार ६ सय २० मत पाएको थियो । यसअनुसार यहाँ बामगठबन्धनको ३३ हजार ६ सय ४६ मत रहेको छ जुन कांग्रेसले पाएको मत भन्दा १८ हजार २ सय २४ मत बढी हो

कञ्चनपुर क्षेत्र नं. २
कञ्चनपुर क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि ८९ हजार ७ सय ९३ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा एमालेका नरबहादुर शाही र कांग्रेसका नारायण प्रकाश साउदबचि चुनावी प्रतिष्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १७ हजार २२, नेकपा एमालेले १८ हजार २ सय २५ र माओवादी केन्द्रले १३ हजार २ सय ५९ मत ल्याएको थियो । यहाँ बामगठबन्धनको पक्षमा ३१ हजार ४ सय ८४ मत छ जुन कांग्रेसले पाएको मत भन्दा १४ हजार ४ सय ६२ मत बढी हो ।

कञ्चनपुर क्षेत्र नं. ३  
कञ्चनपुर क्षेत्र नं. ३ मा आगामी निर्वाचनका लागि ८७ हजार १ सय २५ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा बामगठबन्धनबाट एमालेका दीपकप्रकाश भट्ट र कांग्रेसका रमेश लेखकवीच प्रतिष्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ मा मोटामोटी रुपमा नेपाली कांग्रेसले १७ हजार १ सय ६१, नेकपा एमालेले १७ हजार ३३ र माओवादी केन्द्रले ६ हजार ८९ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको पक्षमा २३ हजार १ सय २२ मत देखिन्छ जुन नेपाली कांग्रेसले पाएको मत भन्दा ५ हजार ९ सय ६१ धेरै छ ।  

समग्र ७ नंबर प्रदेशमा यस्तो छ दलहरुको अवस्था 
प्रदेश नं. ७ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि खसेको मतमध्ये कूल ८ लाख ६६ हजार १ सय ४१ मत सदर मत थियो । स्थानीय तह प्रमुखलाई खसेको मतका आधारमा हामीले यो विश्लेषण तयार पारेका हौँ । यस आधारमा विभिन्न राजनीतिक दलले प्रदेश नं. ७ मा पाएको मत विवरण र प्रतिशत यस्तो छ ।
१) नेपाली कांग्रेसको ३४ दशमलव ७३ प्रतिशत अर्थात ३ लाख ८ सय ७४ मत
२) नेकपा एमालेको ३३ दशमलव ८९ प्रतिशत अर्थात २ लाख ९३ हजार ५ सय ७३
३) माओवादी केन्द्रको २० दशमलव ४२ प्रतिशत अर्थात १ लाख ७६ हजार ९ सय ४४ मत
४) राप्रपाको ३ दशमलव ३६ प्रतिशत अर्थात २९ हजार १ सय ८६
५) संघीय समाजवादी फोरमको ० दशमलव ४२ प्रतिशत अर्थात ३ हजार ६ सय ७७ मत
६) फोरम लोकतान्त्रिकको ३ दशमलव ७५ प्रतिशत अर्थात ३२ हजार ४ सय ८१ मत
७) नयाँ शक्तिको ० दशमलव ७५ प्रतिशत अर्थात ६ हजार ५९ मत
८) राष्ट्रिय जनमोर्चाको ० दशमलव ४२ प्रतिशत अर्थात ३ हजार ६ सय ६१ मत
प्रदेश नं. ७ मा कुल मतको हिसाव गर्दा कांग्रेस पहिलो स्थानमा छ ।

दोश्रो स्थानमा रहेको एमाले भन्दा कांग्रेस ७ हजार ३ मतले अगाडि रहेको छ । तर ७ नंबर प्रदेशमा बामगठबन्धनको कूल मत भने ४ लाख ७० हजार ५ सय १७ मत रहेको छ । जुन कांग्रेसको कूल मत भन्दा १ लाख ६९ हजार ६ सय ४३ मत बढी छ । प्रत्यक्ष निर्वाचनमा दलले उठाएका उम्मेदवारको ब्यक्तित्वका कारण पनि केही भोटमा तलमाथि हुने गर्दछ, यसको लाभ कसलाई हुने हो चुनावपछि मात्र थाहा हुनेछ । 
साभारः राताेपाटी

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply