काठमाडौं, मंसिर । आगामी २१ गते हुने निर्वाचन प्रचार-प्रसारमा व्यस्त रहेका झापा क्षेत्र नम्बर १ का उमेदवार विश्वप्रकाश शर्मा र काठमाडौं क्षेत्र नम्बर ४ का उमेदवार गगन थापाले एकअर्काको लागि भोट मागेका छन् । उनीहरुले शर्मा र थापा दुवैले सामाजिक सञ्जालमार्फत एकअर्कोलाई भोट मागेका हुन् ।
सिंगो मुलुकको नेतृत्व गर्न गगनलाई भोट दिनुहोस् : शर्मा
आफ्नो विद्यार्थी जीवनको स्मरण गर्दै झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेदवार शर्माले आफू नेपाल विद्यार्थी संघको सभापति हुँदा उपसभापतिको रुपमा काम गरेको एउटा भरोसाको रुपमा गगन थापालाई लिएको बताएका छन् ।
उनले गणतन्त्र स्थापनादेखि लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने काममा गगन थापाले महत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् ।
उनले विगतमा गगन थापाले गरेको कामहरु सम्झदै शर्माले अगाडि भनेका छन्, ''जुन बेलामा गणतन्त्र स्थापना गर्न देशमा जरुरी थियो त्यस समयमा राजदरबारको अघिल्तिर हजारौंको नेतृत्व गरेर आवाज उठाउँने योद्धा गगन थापा थिए, लोकमान सिंह कार्कीलाई पदमुक्त गर्नुपर्छ भन्ने आवाजलाई संसद्मा उठाउने प्रतिनिधिको रुपमा गगन थापा थिए । म सम्झन्छु-गगन थापा स्वास्थ्यमन्त्री बने धेरै कामहरु गरे । सफल स्वास्थ्यमन्त्रीको रुपमा मैले गर्व गर्ने नाम गगन थापा हो ।''
गगन थापाले एक दिन सिंगो कांग्रेसको नेतृत्व गर्ने आशा समेत शर्माले भिडियोमा गरेका छन् ।
उनले भिडियोमा अगाडि भनेका छन्, ''गगन थापाले एक दिन सिंगो कांग्रेसको नेतृत्व गर्ने छन् । काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता तपाईंहरुले उहाँलाई मतदान गरिदिनुहोस् । गगन थापाले कांग्रेसको मात्र होइन मेरो पुस्ताको प्रतिनिधित्व गरेर यो देशको प्रधानमन्त्री बन्नेछन् ।
उनले गगन थापालाई भरोसा र विश्वास गर्न समेत आग्रह गरेका छन् ।
''गगन थापालाई भरोसा र विश्वास गर्नुहोस्, तपाईंको क्षेत्रको र मुलुकको समृद्धीको लागि उहाँलाई मत दिनुहोस्, '' उनले भनेका छन् ।
संसद्मा विश्वप्रकाश चाहिएको छ : थापा
काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार गगन थापाले पनि झापा क्षेत्र नम्बर १ का उमेदवार विश्वप्रकास शर्मा संसद्मा चाहिएको बताएका छन् ।
विद्यार्थी आन्दोलनदेखिनै विभिन्न महत्वपूर्ण कामहरु शर्माले गर्दै आएको बताउँदै उनले संसद्को गरिमा बढाउनको लागि विश्वप्रकाश चाहिएको बताएका हुन् ।
नेपाल विद्यार्थी संघको सभापति विश्वप्रकाश दाइ हुँदा हामीले धेरै राम्रा कामहरु गर्यौं, ''गगन थापाले सामाजिक सञ्जालमा विश्वप्रकाश शर्मालाई भोट माग्दै भनेका छन्, ''विश्व दाइको कार्यकर्ता हुँ भन्दापनि मलाई गर्व लाग्छ । उहाँ समस्यामा समाधान खोज्न सधैँ केन्द्रीत रहनुहुन्छ । विश्वप्रकाश शर्मा अबको संसद्मा हामीलाई चाहिएको छ । संविधान निर्माणपछिको यो संसद्मा आफ्नो पार्टी मात्र होइन् अरु पार्टीका संसद्हरुसँग समेत मिलेर काम गर्न सक्ने, समस्या देखाउने मात्र होइन् समाधान खोज्न सक्ने, उत्तेजना फैलाउने होइन चेतनाको साथ समन्वय गर्न सक्ने विश्वप्रकाशसँग संसद्मा काम गर्न पाउने मेरो धोको छ ।
उहाँसँग काम गर्न पाउने कुराले हाम्रो रहरहरु मात्र पूरा हुने होइन संसद्को गरिमा पनि बढ्नुका साथै काविल र योग्य सांसद् पाउँछ । त्यसैले झापा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसलगात सबै पार्टीका नेता तथा कार्यकर्ताले विश्वप्रकाश शर्मालाई मतदान गरेर संसद्मा पठाइदिनुहोला ।''
0 Comments