Ticker

6/recent/ticker-posts

६४ औं राष्ट्रिय क्षयरोग दिवसका अवसरमा स्वास्थ्य स्वयमसेविका सापकोटा र श्रेष्ठ सम्मानित

काठमाडौं, मंसिर ।  विगत ६४ वर्षदेखि अनवरतरुपमा नेपालमा क्षयरोगको प्रतिकारात्मक तथा उपचारात्मक सेवा दिँदै आएको नेपाल क्षयरोग निवारण संस्थाको बुधबार ६४ औं वार्षिकोत्सव अर्थात राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो ।
संस्थाले कालिमाटीको बाक्लो वस्तीका विचमा क्षयरोगीहरुको उपचारको लागि भनेर ‘कालिमाटी चेष्ट अस्पताल’ स्थापना गर्नुका साथै विगत केही वर्षदेखि जटिल खालका क्षयरोगीका लागि २५ शैय्याको ‘एमडिआर होस्टेल’ पनि सञ्चालन गर्दै आएको छ । 
तत्कालिन श्री ५ को सरकारले क्षयरोगीका लागि स्थापना गरेको टोखा स्यानेटोरियम बन्द गरिएपछि सो संस्थाले क्षयरोगीहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गर्दै आएको छ । 
साधारण क्षयरोग भई ६ महिना उपचार गरेर पनि निको नभएर पुनः  बल्झेका, एचआइभिका कारण थप जटिल भएका र क्षयरोगको औषधिले काम गर्न छोडेका जटिल खालका क्षयरोगीलाई सो होस्टेलमा राखेर उपचार गर्ने गरिएको छ । 
गैरसरकारी संस्थाको रुपमा २००९ सालमा स्थापित सो संस्थाले आत्मनिर्भरताको लागि संस्थाको स्वामित्वमा रहेको १६ रोपनी जग्गामध्ये आठ रोपनी जग्गा करीव १८ वर्षअघि काठमाडौं इन्जिनियरिंग कलेजलाई भाडामा दिएको थियो ।
संस्थाको आयस्रोत बढाउन भाडामा दिइएको सो जग्गा र त्यसवापत प्राप्त भाडा संस्थाले लिने गरेतापनि काठमाडौं महानगरपालिका र आन्तरिक राजश्व विभागलाई लामो समयसम्म घरभाडा कर र लाभांश कर तिरेको छैन । 
संस्थाको ६४ औं वार्षिकोत्सव मनाउने क्रममा कार्यक्रमको प्रमुख अतिथि रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सामु संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले नेपाल क्षयरोग निवारण संस्था गैरसरकारी संस्था भएकोले संस्थाले महानगरपालिकालाई तिर्न बाँकी कर छुटको लागि माग गरे । 
जवाफमा महानगरप्रमुख शाक्यले सम्वन्धित वडाध्यक्षसंग छलफल गरि कर छुट दिन मिल्ने या नमिल्ने त्यसबारे नीतिगत छलफल गरेपछि मात्रै भन्नसक्ने आश्वासन दिए । 
महानगर प्रमुख शाक्यका अनुसार संस्थाद्वारा सञ्चालित कालिमाटी चेष्ट अस्पतालले चर्चेको आठ रोपनी जग्गाको कर र अस्पतालको भाडा मिनाहा गरेतापनि संस्थाले काठमाडौं इन्जिनियरिंग कलेजलाई भाडामा दिएको जग्गा र त्यसमा बनेको पाँचतल्ले भवनको भाडा वापतको भाडाकर र लाभकर भने संस्थासंग लिएरै छाड्ने अडानमा रहेको छ ।
कार्यक्रममा महानगरप्रुमख शाक्यले महानगरको १३ नं वडाकी स्वास्थ्य स्वयमसेविका सविना श्रेष्ठ र १४ नं वडाकी स्वास्थ्य स्वयमसेविका शर्मिला सापकोटालाई कदरपत्र र नगद पुरस्कार प्रदान गरे । यसैगरि स्थापना दिवसको अवसरमा आयोजत वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरे । संस्थालाई सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई पनि महानगरप्रमुख शाक्यले सम्मान गरेका थिए । 
त्यस अवसरमा संस्थाका केन्द्रीय महासविच मदनकाजी श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पारेका थिए भने काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिव सुन्दरराज वैद्य तथा काठमाडौं इन्जिनियरिंग कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधानलगायतले बोलेका थिए । 
त्यस अवसरमा महानगरप्रमुख वैद्यले सो अस्पतालमा उपचाररत विरामीको साथै एमडिआर होस्टेलमा रहेका विरामीहरुलाई खानेकुरा र कम्वल वितरण गरेका थिए । 

Post a Comment

0 Comments