बुटवल, १७ मंसिर । नेपाली काङ्ग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसले तयार गरेको सामाजिक एवं आर्थिक विकासको मार्गचित्र आर्थिक समृद्धिको आधारशीला हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार बुटवलमा आयोजित उद्योगी व्यवसायीको वृहत् भेलालाई सम्बोधन गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहेका चौधरीले तयार गरेको उक्त मार्गचित्र पार्टीले शुक्रबार राजधानीमा सार्वजनिक गरेको थियो । पूर्णकालीन राजनीतिमा प्रवेश गरेसँगै नेपाली कांग्रेसले उनलाई उक्त उपसमितिको संयोजकको जिम्मेवारी दिएको थियो ।
सो अवसरमा बोल्दै उनले आर्थिक समृद्धिको अभियान सुरु भइसकेकाले उद्योग व्यवसायीको साथ आवश्यक रहेको बताए । राज्यले व्यापार गर्ने नभई निजी क्षेत्रलाई व्यापार व्यवसायका लागि आवश्यक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।
लगानीकर्तालाई आकर्षित गर्न पुँजी निर्माणका लागि अवसर सिर्जना गर्न सहुलियतपूर्ण कर भुक्तानीको व्यवस्था मिलाउन सकिने उनको कथन थियो । निजी क्षेत्रद्वारा स्थापना हुने उद्योगले रोजगारीका निश्चित शर्तहरू पालना गर्नुपर्ने र रोजगारीको ग्यारेण्टी गरिएवापत राज्यले उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने नीति लिनुपर्ने उनले स्पष्ट पारे । यसो गर्न सकेमा ठूलो मात्रामा रोजगारीको अवसर नेपालमा नै सिर्जना गर्न सकिने र रोजगारीका लागि विदेशिएका नेपालीलाई नेपाल फर्काएर आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने उनले बताए ।
लामो समयपछि निर्वाचन भई स्थानीय तहमा अधिकार गइसकेको अवस्थामा नेपालमा राजनीतिक एजेण्डा बाँकी नरहेकाले आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढ्न जरुरी रहेको धारणा उनले दोहो¥याए । लोकतन्त्र बिना अर्थतन्त्र बलियो बन्न नसक्ने र बलियो अर्थतन्त्रको परिकल्पना लोकतन्त्रमा मात्र सम्भव हुने भन्दै यस अभियानको नेतृत्व अब नेपाली कांग्रेसले गर्ने चौधरीले बताए ।
चौधरीले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न पार्टी र आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को उद्योगी व्यवसायी समितिले भेलाको आयोजना गरेको थियो ।
0 Comments