काठमाडौं, पुस । २०७२ सालमा गएको विनासकारी भूकम्पका कारण भत्किएको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर विवाद चर्किएको छ ।
पुनर्निनिर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणको कामलाई अगाडि बढाइरहेको भए पनि आपसी समन्वय नभएको भन्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच चर्काचर्की भएको हो ।
रानीपोखरी पुनः निर्माणलाई लिएर एमालेबाट निर्वाचित शाक्य र कांग्रेसबाट निर्वाचित खड्गी एकअर्काविरुद्ध सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । मेयर शाक्यले पुनः निर्माण नरोकिने बताइरहँदा उपमेयर खड्गीले भने जसरी पनि पुनःनिर्माण रोकेरै छाड्ने बताइन् । खड्गीले ऐतिहासिक र पुरातात्विक संरचना मासिने गरी हुन लागेको पुनःनिर्माण रोक्ने घोषणा गरिन् ।
शाक्यले भने स्थानीय निकाय निर्वाचनअघि नै पुनःनिर्माणको काम सुरु भएको र उक्त काम पुरातत्व विभागको मापदण्डअनुसारै रहेकाले काम नरोकिने स्पष्ट गरे । रानीपोखरी सबैको साझा र ऐतिहासिक स्थल भएको भन्दै उनले पुनःनिर्माणमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे । खड्गीले मेयर शाक्यले आफूसँग रानैपाखेृरी पुननिर्माणका विषयमा कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाइन् ।
उनले भनिन्– ‘सम्पदा बिग्रने गरी पुनः निर्माण हुन लागेको थाहा पाएपछि मैले मेयर साबलाई सोधेकी थिएँ’, खड्गीले थपिन्, ‘उहाँले पछि कुरा गरौंला भनेर टार्नुभयो, अब म काम रोक्न लाग्छु ।’ कार्यक्रममा काठमाडौं–४ का सांसद गगन थापा र काठमाडौं–६ का सांसद भीमसेनदास प्रधानले पनि उपमेयर खड्कीको अडानको समर्थन गरे ।
थापाले पुरातत्वविदहरुले रानीपोखरीको पुरानो शैली कायमै राखेर पुनःनिर्माण गरिनुपर्छ भन्ने सुझावलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाए । उनले पुरानो स्वरुपमा परिर्वतन नगरी पुनःनिर्माण हुनुपर्नेमा जोड दिए ।
0 Comments