पोखरा(कास्की), मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको मतदानको दिन नजिकिंदै गर्दा कास्की कांग्रेसका उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । प्रचार अभियान अहिले उत्कर्षतिर पुगेको छ । नेताहरु आआफ्ना निर्वाचन क्षेत्रका मतदाता भेट्न वडावडाका बस्तीबस्तीमा पुगेका छन् ।
जनताको मुहार फर्ने गरी काम गर्छु ः शर्मा
नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शुक्रराज शर्मा आफु निर्वाचित भएमा क्षेत्र नम्बर ३ को मुहार फेर्ने गरी काम गर्ने वाचा गर्नुभएको छ ।
पोखरा लेखनाथ महानगरापलिका वडा नम्बर १८, सराङकोटमा बिहिबार आयोजित कोण सभा र घरदैलोमा उहाँले सराङकोटको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने संकल्प दोहोर्याउनुभयो ।
पोखराको पनि पर्यटकीय आकर्षणको केन्द्र बनेको सराङकोटमा पर्यटनको दिगो विकास गर्ने योजना आफूसंग रहेको शर्माले बताउनुभयो । क्षेत्र नम्बर ३ को विकास र समृद्धि पर्यटन उद्योगको विकासमा नै निर्भर रहेको उल्लेख गर्दै कांग्रेसका प्रभावशाली नेता शर्माले सराङकोटलाई रोमाञ्चकारी र साहसी पर्यटनको गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
प्याराग्लाइडिड. र जीप फ्लायर जस्ता सहासिक खेलामा सराङकोट विश्वमा समुदायमा नै परिचित रहेको उल्लेख गर्दै उहाँले अन्य थप सहासिक खेलको पनि विकास गर्ने सकिने संभावना औल्याउनुभयो ।
महानगरपालिकाको वडा भए पनि सराङकोटमा भौतिक पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै उहाँले सडकको स्तारोन्नति गर्ने, खानेपानीको सुविधा उपलब्ध गराउने, कृषिको विकासमा जोड दिने संकल्प बोकेर आफु मतादाताको माझमा आएको बताउनुभयो ।
चुनावी अभियानमा प्रदेश नम्बर (क) का उम्मेदवार शारदा पौडेल र ‘ख‘ का उम्मेदवार सिकन्दर कुमार गुरुङ ‘भोजबहादुर’ले विकास र परिवर्तनका लागि कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
शर्मासहित गुरुङ र पौडेल बुधबार सराङकोटको पिपलडाली, पँधेलीमा आयोजना गरिएका कोण सभामा सहभागी हुनुभएको थियो ।
चालिसेको दाबी ः भागवण्डा मिलाएकाले खान्छन, विकास गर्दैनन्
कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार देवराज चालिसेले भागवण्डा मिलाएर चुनावमा आएकाले विकासको रकम बाडीचुडी खाने तर विकास नगर्ने बताउनुभएको छ ।
बिहिबार उहाँले निर्मलपोखरी क्षेत्रका ६ स्थानमा चुनावी सभालाई संबोधन गर्दा सो कुरा बताउनुभएको हो ।
उहाँले देशमा जनताले चुनेका प्रतिनिधिबाट बनेको संविधान सभाले जनताको चाहना अनुरुपको संविधान निर्माण गरि राजनीतिक व्यवस्थाको टुंगो लगाईसकेकोले आर्थिक विकास र समृद्धिको लागि नेपाली काँग्रेसलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
सम्बोधनको क्रममा उम्मेदवार चालिसेले अहिलेको चुनाव जनताले ७० बर्ष संघर्ष गरेर ल्याएको लोकतान्त्रिक संविधान अन्तरगत देशलाई चलाउने कि अधिनायकबादी ढंगले देशलाई चलाउने भन्नेबीचको जनमत संग्रह भएको बताउदै स्वतन्त्रता, लोकतन्त्र र सम्बृद्धिको चाहना गर्ने सबैले यो पटक काँग्रेसलाई भोट हालेर लोकतन्त्र जोगाउन पर्ने जिकीर गर्नुभयो । ‘अन्यथा देश झन् बढि समस्यामा फँस्नेछ‘ ’चालिसेले भन्नुभयो, ‘एकतन्त्रिय अधिनायकबादी शासन सत्ता देशमा चल्नेछ ।‘
गुरुको वाचा विकासमा
त्यस्तै अर्का प्रभावशाली युवा नेता तथा प्रदेश सभा तर्फका उम्मेदवार गुरु बरालले विकासका लागि नेपाली कांग्रेसलाई नै भोट दिन आग्रह गर्नुभएको छ ।
प्रदेश सभामा रहेर दिनहुँ जनताको पीर मर्का र विकासलाई हेर्न मिल्ने भएकोले स्थानीय विकास निर्माण र जनताको सुख शान्तिलाई आफूले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
चालिसे र बराल विहिबार निर्मलपोखरीको ठुलिस्वाँरा, लामाखेत, बाँसपानी, शिवालय, फोक्सिङकोट, धुस्र्यानी लगायतको स्थानमा चुनावी सभामा सहभागी हुनुहुन्थ्यो ।
माटोको माया गर्नेलाई चुन्न केसीको आग्रह
कास्कीको निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेश (ख) तर्फ उम्मेदवारी दिनुभएका काँग्रेस उम्मेदवार कृष्ण केसीले माटोको माया गर्नेलाई भोट दिन आग्रह गनुभएको छ ।
चुनावी प्रचारको क्रममा मादी गाउँपालिकाको सिल्दुजुरे पुग्नुभएका केसीले टोलीथाक, तप्राङ र पानीघाटका चुनावी सभामा सो कुरा बताउनुभएको हो । उहाँको साथमा समानुपातिक उम्मेदवार रसकुमारी गुरुङसहित जिल्ला कार्यसमितिका सदस्य र भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरु पनि सिल्दुजुरे पुग्नुभएको थियो ।
‘म यहाँको जनजीवनमा घुलेको छु र यहाँको माटोसँग म सँधै परिचित छु‘, केसीले भन्नुभयो,‘ उम्मेदवार नहुँदा पनि यहिँको थिएँ र जितेपछि पनि यहिँकै हुनेछु, यहि ठाऊँको विकासको लागि काम गर्नेछु ।’ चुनावी सभामा जिल्ला सभापति केसीले चुनावको बेलामा मात्रै कुटुम्बेरी साईनो गाँस्न आउनेहरुलाई चिनेर सँधै साथ दिनेलाई चुन्नुपर्ने बताउनुभयो । उम्मेद्वार केसीले आफू हुर्किएको र जन्मिएको माटोलाई साक्षी राख्दै आफ्नो क्षेत्रको विकासको लागि मरिमेटेर लागिपर्ने वाचा पनि गर्नुभयो ।
चुनावी सभामा काँग्रेसका जिल्ला सदस्य नविन सिग्देल, नेपाली काँग्रेस मादी गाउँपालिका सँयोजक देवीजंग गुरुङ, तरुण दल मादी गाउँपालिका सँयोजक विशाल गुरुङ, स्थानिय नेताहरु भीमकाजी गुरुङ, देव गुरुङ लगायतले बोल्नुभएको थियो ।
त्यस्तै कास्की क्षेत्र नं १ बाट नेपाली कांग्रेसका प्रतिनीधिसभा उम्मेदवार तथा न्याय,कानून तथा संंसदीय मामिला मन्त्री यज्ञबहादुर थापा र प्रदेश (क) तर्फका उम्मेदवार जीवन परियार पनि आफ्नो क्षेत्रको प्रचार अभियानलाई तिव्रता दिईरहनुभएको छ ।
0 Comments