बलराम प्यासी
काठमाडौं, पुस । २१ मंसीरमा सम्पन्न निर्वाचनमा काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेकपा एमालेका वरिष्ठ नेता एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफुले जितेको निर्वाचन क्षेत्रमा मतदाताको चाहना बमोजिम विकास गर्दै सो क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र बनाउने बताएका छन् ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता नेपाल तथा प्रदेश सभा सदस्यमा निर्वाचित सदस्य सानुकुमार श्रेष्ठको सम्मानमा ट्रिटन इन्टरेनशनल सेकेण्डरी स्कुल तथा कलेज, ट्रिटन योग समिति तथा एकिकृत उपभोक्ता समित सुविधानगरद्वारा आइतबार आयोजित वधाई तथा शुभकामना कार्यक्रममा नेता नेपालले सो कुरा बताएका हुन । ‘मैले निर्वाचन अगाडि मतदातासामु जे जे कुरा बोलेको थिएँ, यसपालि त्यो पुरा गरेरै देखाउँछु, तपाइँहरु विश्वस्त हुनुस’ उनले भने ।
काठमाडौं महानगरपालिकाको ९ र ३२ वडा तथा कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ वडा र शंकरापुर नगरपालिकाको सबै वडा समेटिएको काठमाडौं २ लाई ५÷६ वर्ग (क्लस्टर) मा विभाजित गरेर त्यहाँको समस्या पहिचान गरी योजनावद्ध रुपमा विकास गरिने बताए ।
आफु पनि सोही क्षेत्रको स्थायी वासिन्दा भएकोले स्थानीय बुद्धिजीवी, समाजसेवी, प्राविधिक र अनुभवी विज्ञका साथै विभिन्न विषयका ज्ञान र सीप भएका अनुभवीलाई समेटेर लैजाने पनि उनले बताए । स्थानीय समस्यको जानकार भएका स्थानीय उपभोक्ता समितिमार्फत यसक्षेत्रको शिक्षा, स्वास्थ्य, वातावरण र विकासमा उनीहरुलाई प्रतिष्पर्धा गराईने पनि उनले बताए ।
विकासका लागि आवश्यक पर्ने बजेटको अलग व्यवस्था गरिदिएर स्थानीय उपभोक्ता समितिलाई परिचालन गरिदिने हो भने काठमाडौं २ निर्वाचन क्षेत्र अन्य निर्वाचन क्षेत्रभन्दा फरक र नमुना हुने कुरामा आफु विश्वस्त रहेको नेता नेपालको दावी थियो ।
विभाजित गरिएका जुन क्लस्टरले राम्रो काम गर्छ, उसलाई प्रोत्साहन दिने हो भने पछाडि परेका अरुलाई पनि काम गर्न जोश जाँगर थपिने नेता नेपालले विश्वास व्यक्त गरे । ‘अबको समय भनेको विकास निर्माण गर्ने र देशलाई सम्वृद्ध बनाउने समय हो’,उनले भने-‘यसको लागि अब काठमाडौं २ बाट विकासका काम शुरु हुन्छ ।’
कार्यक्रममा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल तथा कलेजका संस्थापक अध्यक्ष विश्वनाथ प्रसाद शाहले नवनिर्वाचित नेता माधवकुमार नेपाल तथा प्रदेश सभा सदस्यमा निर्वाचित सदस्य सानुकुमार श्रेष्ठलाई खादा तथा टिका लगाएर वधाई दिँदै कार्यक्रकालको सफलताको कामना गरे । त्यस अवसरमा प्रदेश सभा सदस्य श्रेष्ठले आफुले आफ्नो प्रदेशका मतदाताको मतको उच्च कदर गर्ने उल्लेख गर्दै आफ्नो प्रदेश मात्रै नभई सिंगो काठमाडौं २ को विकासको लागि हरदम तयार रहेको बताए ।
कार्यक्रममा पुर्व कानुन तथा न्यायमन्त्री अग्नीप्रसाद खरेल, महानगरको वडा नं ३२ का वडा अध्यक्ष नवराज पराजुली, पतञ्जली योग समितिका अञ्चल प्रभारी नरेन्द्र खतिवडा, ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी, एकिकृत उपभोक्ता समितिका सल्लाहकार समितिका सदस्य पदम नारायण श्रेष्ठलगायतले बोलेका थिए ।
0 Comments