काठमाडौं, माघ । घाइतेको शल्यक्रिया गर्नुपर्ने या अन्य कारणले शरीरमा रगत चढाउनुपर्ने विरामीलाई रगत आवश्यक परेमा धेरैको ध्यान नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा पर्छ । त्यसवाहेक अन्यत्र रगत पाइन्छ भन्ने धेरैलाई थाहा छैन ।
तर त्यहाँ रगत नपाए विरामीका आफन्तले चिन्ता लिन पर्र्दैन । राजधानीको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापना गरेको रक्तसञ्चार केन्द्रमा नेपाल सरकारले तोकेको शुल्कमै त्यहाँको ब्लडबैंकमा उपलब्ध सबै समूहको रगत जुनसुकै बेलामा पनि सजिलैसंग पाइन्छ ।
‘अन्तर्राष्ट्रियस्तरको नीजि अस्पताल भएका कारण ग्राण्डी अस्पतालबाट रगत लिँदा मंहगो पर्छ भन्ने भ्रम पटक्कै नराख्न’ सो अस्पतालका सञ्चार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले बताए । ‘नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा जति शुल्क तिर्नुपर्छ त्यतिमै यहाँ रगत उपलब्ध हुन्छ’ उनले भने ।
विशेष गरी ग्राण्डी अस्पतालमा भर्ना भएका विरामीको लागि आवश्यक परेको बेलामा तत्काल रगत उपलब्ध गराउन र विरामीका आफन्तलाई रगतको लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा आत्तिएर दौडिन नपरोस भनेर अस्पतालले ब्लडबैंक स्थापना गरेको अधिकारीले बताए ।
अस्पतालले आफ्नो स्थापनाकालदेखि नै एकहजार पिन्ट रगत भण्डारन क्षमताको अत्याधुनिक ब्लड बैंक स्थापना गरेको बताउँदै व्यवस्थापक अधिकारीले सो ब्लड बैंकको लागि विभिन्न ठाउँमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै आएको पनि बताए ।
‘कुनैपनि अस्पतालमा भर्ना भएका विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउनमात्रै हैन विभिन्न संघसंस्था तथा टोलसुधार समितिले आयोजना गर्ने रक्तदान कार्यक्रममा रक्तदाताबाट रगत झिक्न र रगत संकलन गर्न ग्राण्डी अस्पतालको ब्लडबैंकको टीम जुनसुकै समयको लागि तयारी अवस्थामा छ ।’ —अधिकारीले भने ।
ग्राण्डी अस्पतालको ब्लड बैङ्कमा रक्तदाताले दिएको रगत संकलन गरेर राख्न सकिने, रगतका विभिन्न कम्पोनेन्टहरुलाई अलग गरेर छुट्टाछुट्टै भण्डारन गरेर राख्न सकिने र आवश्यकता अनुसार तत्काल रगत उपलब्ध गराउन सकिने व्यवस्था रहेको व्यवस्थापक अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार रगतको अभाव हुन नदिन सो अस्पतालको ब्लड बैङ्कले नियमितरुपमा यस्ता रक्तदान तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको र अस्पतालमा कार्यरत कर्मचारीहरुको पनि रक्तसमूहको सूची बनाई उनीहरुलाई समयसमयमा रक्तदान गराउँदै आएको छ ।
रक्तसंकलनकै सिलसिलामा रगत संकलनको उद्धेश्यले ग्राण्डी अस्पतालले आइतबार टोखा नगरपालिका अन्तर्गतको धापासी सुर्यदर्शन हाइटमा रक्तदान कार्यक्रम आयोजना गर्योे ।
स्थानीय बानिँयाटार युवा समाज, मात्सुमोतो हिमालयन मित्रता क्लब र जय शंकर बचत ऋण सहकारी संस्था लिमिटेड सहितको सामाजिक संस्थासँगको सहकार्यमा भएको सो रक्तदान कार्यक्रममा क्लव तथा सहकारी संस्थाका सदस्य गरी ६७ जनाले रक्तदान गरेको ग्राण्डी अस्पतालले जनाएको छ ।
उपत्यका बिकास प्रधिकरणका प्रमुख आयुक्त डा.भाईकाजी तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा टोखा नगरपालीका वडा नं ३ र वडा नं ७ का वडा अध्यक्ष, समाजसेवी शंकर डंगोल तथा जापानी अतिथिहरुको समेत सहभागिता रहेको थियो ।
ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा.चक्रराज पाण्डेले रक्तदान तथा रगत संकलन र वितरणको कार्य अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।
अस्पतालको तर्फबाट रक्तदान कार्यक्रमको संयाजन गर्दै आएका बिनय रायमाझीले यस किसिमका रक्तदान कार्यक्रम गर्नुपरेमा ग्राण्डी अस्पतालसंग सम्पर्क राख्न स्थानीयबासीलाई आग्रह गरे ।
0 Comments