Ticker

6/recent/ticker-posts

त्रिभुवन विमानस्थल विस्तार प्रकरण : जग्गामा चित्त बुझाए पनि घरको मुआव्जामा पुनर्मूल्यांकनको माग

काठमाडौं, माघ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गर्ने सन्दर्भमा धावनमार्गको पुर्वतर्फको १ सय ४० रोपनी जग्गाको मुआव्जा लिन स्थानीय जग्गाधनी तयार भएतापनि त्यसमा बनेका ३ सय ७२ घरटहराको मुआव्जामा भने घरधनी राजी देखिएका छैनन । 
३ सय ७२ मध्ये ३ सय घरधनीले स्थायी घर तथा अस्थायी टहराको मुआव्जामा सरकारले गरेको मुल्यांकन दरमा चित्त नबुझेका कारण यसको पुर्नमुल्यांकन हुनुपर्ने माग सहित गृह मन्त्रालय र नेपाल उडड्यन प्राधिकरणमा निवेदन दर्ता गराएका छन् ।

सरकारले चनचल्तीको मुल्यअनुसार भनेर तीनथरी दरमा जग्गाको मुल्यांकन गरि मुआब्जा निर्धारण गरेतापनि सो मुल्यअनुसार अहिले महानगरको ३२ नं वडामा कतैपनि जग्गा नआउने भएको अधिग्रहणमा पर्ने जग्गाधनीको गुनासो छ । आफुले बनाएको घरको मुल्यांकनमा त ३०० घरधनीले चित्त बुझाएका छैनन । 

गत २३ पुसमा मुआव्जा निर्धारण समितिका अध्यक्ष काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको वैठकले मुआव्जा निर्धारण गरि २४ पुसमा सार्वजनिक सूचना प्रकाशित गरेर मुआव्जा लिन आउन सम्वन्धीत जग्गाधनीलाई आह्वान गरेको थियो । 

अन्तिम मुआव्जा निर्धारण निर्णय गर्ने वैठकमा आफुलाई जानकारी नगराई निर्णय गरिएको काठमाडौ महानगरपालिका वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीले गुनासो गरे । 

नेपाल सरकारको जग्गा प्राप्ति ऐन २०३४ अनुसार काठमाडौं महानगरपालिका वडा नं ३५ (हाल ३२) को घर जग्गा अधिग्रहण गरेको प्राधिकरणले जनाएको छ । जसअनुसार मोटरबाटो भएको जग्गाको प्रतिआना ३३ लाख, गोरेटो बाटो भएको प्रतिआना २६ लाख ५० हजार र बाटो नभएको जग्गा प्रतिआना २३ लाख ५० हजार मुआव्जा निर्धारण गरेको छ । साथै सो मुआव्जामा सरकारलाई तिर्नुपर्ने ५ प्रतिशत लाभकर पनि थपेर दिने निर्णय गरिएको छ । 

चलनचल्तीको मुल्य अनुसारको मुआव्जा तथा क्षतिपुर्ति रकम नदिएको र सरकारले लगाएको घरजग्गा विक्रीमा ५ प्रतिशत लाभकर कसले तिर्ने भन्ने विषयमा लामो समय वहसपछि सहमति भएपछि अधिग्रहणको कार्यले गति लिएको हो । 

दोस्रो चरणमा गरिन लागेको सो १ सय ४० रोपनी जग्गा अधिग्रहण गर्ने कार्य चलनचल्तीको मुल्यअनुसारको मुआव्जा र क्षतिपुर्ति रकम नमिलेका कारण ढीलाई भएको थियो । 

सरकारले यसअघि पनि विमानस्थलको पुर्वतर्फ रहेको वस्तीलाई करीव १० वर्षअघि प्रतिआना ५ लाख ७० हजार मुआब्जा दिएर अधिग्रहण गरेको थियो । 

नेपाल नागरिक उडड्यन प्राधिकरणले हवाइ यातायात क्षमता अभिवृद्धि आयोजनाको लागि विमानस्थलको धावनमार्गको पुर्वतर्फ रहेको घरजग्गा अधिग्रहण गर्न लागेको हो । 

अधिग्रहण गरि सम्वन्धित जग्गाधनीलाई मुआव्जा र क्षतिपुर्ति दिने सहमतिपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत २४ पुसमा १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । जसअनुसार ८ माघमा सार्वजनिक सूचनाको अन्तिम म्याद सकिएको छ । 

सम्वन्धित जग्गाधनीले आवश्यक कागजपत्र बुझाएपछि क्रमशः उनीहरुले पाउने मुआव्जा बराबरको रकम चेकबाट भुक्तानि दिने मुआब्जा निर्धारण समितिले जनाएको छ । 

सरकारले घरजग्गाको मुआव्जा तथा क्षतिपुर्ति दिइसकेपछि विमानस्थलको पुर्वतर्फको एकतिहाई जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा आउने र विमानस्थलको सुरक्षा सुदृढ हुने सम्वन्धित अधिकारी बताउँछन ।  

जडिबुटीचोकबाट पेप्सीकोला चोक जाने मुल सडकको पश्चिमतर्फको वीचमा पर्ने ती घरजग्गा अधिग्रहण गरिसकेपछि अब नीजि स्वामित्वमा केही जग्गामात्रै बाँकी रहने र बाँकी जग्गा पनि प्राधिकरणले केहीवर्षपछि अधिग्रहण गर्ने योजना रहेको प्राधिकरण स्रोतको भनाई छ ।

Post a Comment

0 Comments