काठमाडौं, माघ । नेपालकै पुरानो तथा धनी सामाजिक संस्थाको रुपमा स्थापित ‘नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी’ले महागुठीद्वारा सञ्चालित गान्धी महिला आश्रम काँडाघारी मनोहरा परिसरमा शुक्रबारदेखि सर्वसाधारणका लागि घरबुना नेपाली कपडाको विक्री कक्ष शुरु गरेको छ । स्वर्गीय तुलसीमेहर श्रेष्ठको १२२ औं जन्मजयन्तीको अवसर पारेर सो विक्री कक्ष शुरु गरिएको हो । १९५३ सालमा ललितपुरमा जन्तेका तुलसीमेहरको २०३५ सालमा निधन भएको थियो ।
महिला आश्रममा २ वर्षसम्म आश्रय लिएर सिलाइ, कटाई र बुनाई तालीम लिएका एकल महिलाद्वारा प्रशिक्षणका क्रममा उत्पादन गरेका सुती, खद्धर, खादि लगायत घरबुना कपडाहरु सो विक्री कक्षबाट सर्वसाधारणको लागि विक्रीका लागि राखिएको हो । महिला आश्रममा आश्रीत २५ महिला तथा आश्रमको आसपासका दिवासेवामा तालीम लिएका अरु ५० महिलाबाट ती घरबुना कपडा उत्पादन गरिएको महागुठीले जनाएको छ ।
विशेष गरी महिलाहरुको लागि आवश्यक पर्ने कपडा र घरयासी प्रयोगको लागि आवश्यक पर्ने तन्ना, पर्दा, सिरक डसनाको खोल र केटाकेटीका लागि न्यानो लुगा र खेलौना समेत सो विक्री कक्षमा सस्तोमा पाइने महागुठीका कार्यकारी निर्देशक प्रेम लामिछानेले बताए ।
सुधारवादी चिन्तक एवम् महात्मा गान्धीका नेपाली चेला तुलसीमेहरको नाउँमा स्थापित सो संस्थाले द्वन्दकालमा विभिन्न कारणले एकल भएका दीनदुःखी र आर्थिक अवस्था नाजुक भएका महिला तथा उनीहरुका वालवालिकालाई महागुठीद्वारा सञ्चालित महिला आश्रममा आश्रय दिँदै उनीहरुलाई आत्मनिर्भर बन्दै समाजमा पुर्नस्थापना योग्य बनाउनका लागि काम गर्दै आएको छ ।
नेपालकै धनी सामाजिक संस्था भएतापनि समयअनुसार भएका सम्पत्तिको सदुपयोग गर्न नसकेको कारण आत्मनिर्भर हुनका लागि परनिर्भर बन्नुपरेको छ । वर्तमान मुल्यांकन अनुसार संस्थाको चलअचल सम्पत्ति यतिखेर २० अरब भन्दा बढीको छ ।
संस्थाको नाउँमा ललितपुरको मानभवनस्थित आदर्श विद्यामन्दीरले भाडामा लिएको १२ रोपनी ४ आना ३ पैसा, लगनखेलमा २ रोपनी १४ आना, काठमाडौंको गोठाटार, काँडाघारीमा ५२ रोपनी १ आना, खिचापोखरीमा करीव २ आना, बनेपाको चण्डेश्वरीमा ७ रोपनी १२ आना ३ पैसा, मोरंगको अमरदहमा २१ विगाहा ८ धुर, धनुषाको लक्ष्मीपुरमा ५० विगाहा १४ कठ्ठा ३ धुर रहेको महागुठीले जनाएको छ ।
वि.स.१९५३ मा ललितपुुरमा जन्मेका समाजसेवी श्रेष्ठले भारतका समाजवादी नेता महात्मा गान्धीसंग भारतको सावरमती आश्रममा चर्खाबाट धागो कातेर खद्धरको घरबुना कपडा बनाउन सिकेका थिए । त्यहाँबाट फर्केपछि उनले नेपालमा पनि चर्खाप्रचारको अभियान नै शुरु गरेका थिए । उनले १९७७ सालमा भारतको प्रशिद्ध जवाहरलाल नेहरु पुरस्कार पनि पाएका थिए ।
0 Comments